|

डडेल्धुरा : कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले १० दिन निषेधाज्ञा थपेको छ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

पहिले शनिबारसम्म निषेधाज्ञा गरेको थियो। विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै २५ देखि जेठ ४ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए।

अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उनले बताएका छन्। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

लकडाउन थप कडाइ गर्दै खाद्य सामग्रीका पसलहरु अब बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइनेछ। यसअघि प्रशासनले बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म दुई पटक खोल्न दिएको थियो।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउनेछन्।

यस्तै, नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.