|

मकवानपुर : राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ। 

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) का तर्फबाट साझा गठबन्धनबाट डा. खिमलाल देवकोटा, नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा 'बादल' र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। 

गठबन्धनका तर्फबाट डा. देवकोटाले उम्मेदवारी दिने टुंगो बुधबार नै लागिसकेको थियो। बादलको उम्मेदवारी रहने पहिल्यै चर्चा चले पनि देवकोटालाई विपक्षीसहित समर्थन रहने निर्णय सुनेपछि बादल हच्किएका र हार्ने चुनाव नलड्ने भनेका खबर सार्वजनिक भएका थिए। 

तर आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय लिएको हो। नेमकिपाका तर्फबाट पनि आजै निर्णय भई तामाङले उम्मेदवारीका लागि मनोनयन दर्ता गरिएका छन्।  

देवकोटाले बिहान साँढे १० बजे उम्मेदवारी दर्ता गरेका हुन्। देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका नेता एवम् प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल छन् भने समर्थकमा कांग्रेस सांसद राधा घले छिन्।

देवकोटापछि एमालेका तर्फबाट गृहमन्त्रीसमेत रहेका बादलले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। बादलको प्रस्तावकमा एमाले संसदीय दलका नेता समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेकी छिन्।

यस्तै, नेपाल मजदुर किसान पार्टीका नेता कृष्णबहादुर तामाङको पनि उम्मेदवारी मनोनयन दर्ता भएको छ। तामाङको प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सृजना सैंजू रहेका छन्।

देवकोटा भन्छन् : जित्छु, बादल भन्छन् : एमाले सबैको भोट पाउँछु

राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेपछि पत्रकारहरूसँग प्रतिक्रिया दिए। गृहमन्त्री बादलले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। उनले आफूले एमालेबाट उम्मेदवारी दिएकाले सबै एमालेतर्फका सबैको मत पाउने विश्वास गरे। 

‘पार्टीले मलाई उम्मेदवार बनायो। यो प्रदेशको ९ हजार ५ सय ६४ मतदाता मध्ये पार्टीको ५ हजार १ सय ३० मत छ। यो मतले नै मेरो जित सुनिश्चित छ।’ उनले दाबी गरे, ‘पार्टीका अर्को पक्षबाट समर्थन हुँदैन भन्ने हल्ला मात्र हो।’   

यस्तै, डा. देवकोटाले आफ्नो उम्मेदवारी मुलुकमा प्राप्त उपलब्धि रक्षाका लागि रहेको बताउँदै साझा गठनबन्धनबाट उम्मेदवार रहेकाले जित्ने बताए। ‘अहिले मुलुकको संविधान र व्यवस्थापन कमजोर बनाइएको छ।  संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई हात्त खुट्टा बाँधेर काम गर्न दिएको छैन। प्राप्त उपलब्धि भताभुंग गरिएको छ,’ डा. देवकोटाले भने, ‘जनआन्दोलन, माओवादी आन्दोलन, जनजाति आन्दोलनबाट हामीले पाएका संविधान र व्यवस्थाको हत्या गर्ने काम प्रधानमन्त्रीबाटै भएकाले यसको रक्षाको लागि मेरो उम्मेदवारी हो।’

आफू राजनीतिक दलका तर्फबाट साझा उम्मेदवार भएको र सत्तारुढ एमालेले पनि समर्थन गर्ने बताए। 

यस्तै, नेमकिपाको तर्फबाट मनोनयन दर्ता गराएका तामाङले हार र जीतका लागि भन्दा पनि आफूले अधिकार प्रयोग गरेको बताए। ‘पार्टी ठूलो र सानो होइन, हाम्रो पनि अधिकार भएकाले पार्टीको निर्णय बमोजिम मनोनयन दर्ता गरेको हुँ।’ उनले भने,‘जितियो भने संविधान, कानून बमोजिम आफ्नो भूमिका निर्वाह गर्नेछु।’ 

निर्वाचन कार्यालयले विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि मनोनयन दर्ता गर्न समय दिएको थियो। 

देवकोटालाई स्वतन्त्र हैसियतमा चुनाव चिह्न 'कलम' 

गठनबन्धन उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका डा. देवकोटा स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने भएकाले उनले दलको चुनाव चिह्न नपाउने भएका छन्।

उनले स्वतन्त्रलाई छान्न मिल्ने चिन्ह‘कलम’ रोजेका छन्। चुनाव चिह्न अन्तिम निर्णय भने निर्वाचन आयोगले यही वैशाख २९ प्रदान गर्नेछ।

निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार डा.देवकोटाको उम्मेदवारी स्वतन्त्र रहने भएकोले दलको चुनाव चिह्न नपाउने बताउँदै मागअनुसार नै चुनाव चिह्न 'कलम' पाउन सक्ने बताए। 

एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गराएका गृहमन्त्री समेत रहेका बादलले 'सूर्य' पाउने भएका हुन्। तामाङ नेमकिपाको 'मादल' चुनाव चिह्नबाट चुनावमा भाग लिँदै छन्।  

यस्तो छ अंक गणित

राष्ट्रियसभा सदस्यमा प्रदेशसभाका सदस्य, प्रदेशका १३ जिल्लाका पालिकाका प्रमुख तथा उप प्रमुखले मतदान गर्नेछन्। बाग्मती प्रदेशसभामा सदस्य ११० जना सदस्य छन्। यस्तै प्रदेशका विभिन्न १३ जिल्लाका १ सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३८, प्रदेशसभा सदस्य ११० गरी ३ सय ४८ जना मतदाता छन्।

मतभार गणना गर्दा प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत मानिनेछ। 

बागमती प्रदेशसभामा ११० सदस्यमध्ये सग्लो एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेकका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पनि २ जना छन् भने जनता समाजवार्दी (जसपा) बाट एक जना छन्।

प्रदेशसभामा एमालेका ५७ जना सदस्य रहेकोमा केपी शर्मा ओलीका पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना प्रदेश सभा सदस्य छन्।

यस्तै, पालिकाका प्रमुख र उपप्रमुखमध्ये एमालेको १३३ जना, कांग्रेसका ६७, माओवादी केन्द्रका ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन्। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा पुगेका गृहमन्त्री बादल एमाले प्रवेश गरेपछि पार्टीबाट पदमुक्त भएका थिए। त्यसपछि उनको ठाउँमा निर्वाचन हुन लागेको हो।

आगामी जेठ ६ गते बागमती प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माविमा चुनाव हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.