|

कालिकोट : रास्कोट नगरपालिका वडा नम्बर २ को रास्कोट रंगशाला टाठाबाठाको कमाइ खाने भाँडो बन्दै गएको छ। प्रत्येक वर्ष रंगशालाको नाममा बजेट आए पनि  नेताका आसेपासेले काम नगरी बिल भर्पाइ गरिदिने पाइएको छ। 

पाँच वर्षमा निर्माण सक्ने योजनासाथ निर्माण हुन लागेको सो रंगशाला निर्माणमा दुई करोड रुपैयाँ खर्च भइसक्यो। तर रंगशाला बन्ने निश्चित छैन। कर्णाली प्रदेश सरकारबाट २०७५ कार्तिक ६ मा एक करोड, ७६/७७ मा एक करोड र ०७७/७८ मा अहिले पनि रंगशालालाई ५० लाख रुपैयाँ बजेट परेको छ। 

पटक पटक विवादमा पर्दै आइरहेको रास्कोट रंगशालामा पहिलो पटक नेकपा माओवादीका कार्यकर्ता ध्वजबहादुर शाही (मुस्कान) उपभोक्ता समिति अध्यक्ष थिए। उनले स्काभेटरले माटो फालेर एक करोड सकाएका थिए। अर्को वर्ष नेकपा एमालेका कायकर्ता कुलबहादुर खड्का अध्यक्ष भएपछि फिल्डको वालमा जाली भरेर ७० लाख खर्च गरेका थिए। 

कामै नगरी बजेट सकाउने प्रवृत्तिले गर्दा पटक पटक रास्कोट रंगशाला विवादमा मुछिँदै आइरहेको छ। बजेट खर्च गरेजति उपलब्धि नभउको रास्कोट नगरपालिकाका स्थानीय विश्विमित्र सिम्खाडाले बताए।

'खर्च दुई करोड भइसक्यो उपलब्धि केही छैन। काटिएको फिल्ड खोलाजस्तै छ। वर्षाैं करोडौँ बजेट आउँछ। उपभोक्ता बन्न नै हानथापले आर्थिक वर्षको अन्तिम महिना (जेठ)मा काम सुरु हुन्छ। केही बजेट फ्रिज जान्छ, केही बिल मिलाएर खान्छन्, काम भने केही हुँदैन,' उनले भने।

यो रंगशाला अहिले टाठाबाठाको कमाइ खाने भाँडो बनेको सिम्खडा बताउँछन्। अहिले नाम मात्रको रंगशाला भएको छ। बर्सेनि आएको बजेट सक्ने मात्र काम भएको छ। दुई करोड रुपैयाँ सकिँदा पनि रंगशाला बन्ने/नबन्ने टुंगो छैन। 

उपभोक्ताबाट सोचेअनुसारको काम हुन नसकेकाले अब बजेट थप गराएर ठेक्कामार्फत निर्माणको जिम्मा दिने रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बरालले बताए। उनले भने, ‘प्रदेशबाट खर्चको अख्तियारी अन्तिममा आउँछ, उपभोक्ता बनाउनमै विवाद हुन्छ। अन्तिममा सम्झौता भएर सोचेअनुसार काम हुन नसकेको हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.