|

पर्सा : कोरोना महामारीको बेला पल्स अक्सिमिटरको कालोबजारी गर्ने एक औषधि व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। महामारीमा मौकाको फाइदा उठाउँदै तीन गुणा बढी मूल्यमा अक्सिमिटर बेच्ने वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरी तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।

तिवारीलाई एकहजार नौ सय पर्ने अक्सिमिटरलाई साढे तीनहजार बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

तिवारीले आफ्नै घरमा औषधि पसल राखेर कालोबजारी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्त तिवारीलाई कालोबजारी सम्बन्धी कसुरमा कारबाही प्रकृया अगाडि बढाइएको खनालले जानकारी दिए।

कोरोनाले गाँजेको वीरगन्जमा अक्सिमिटर बिक्री गर्दा कालोबजारी गर्ने तिवारीको पसलमा छापामार्दा थप १२ थान अक्सिमिटर पनि फेला परेको प्रहरीले जनाएको छ। वीरगन्जका अन्य धेरै औषधि पसलमासमेत अक्सिमिटर र औषधिमा कालोबजारी भइरहेको उपभोक्ताको गुनासो छ।

कालोबजारी ऐन अनुसार कसुर गरेको ठहर भएमा एक वर्ष कैद र दुईलाख ५० हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ। अक्सिमिटरको काम शरीरमा अक्सिजन मापन गर्ने हो। कोरोना महामारी बढेपछि चिकित्सकहरुले सर्वसाधारणलाई अक्सिमिटर किन्न सुझाव दिन्छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.