|

काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ। 

भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो। महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। 

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिका रुपमा अगाडि आएको कोभिड १९ विरुद्धको लडाइँमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए। कोभिड महामारी तिब्र रुपमा विस्तार हुँदै गएर विरामीको उपचारमा नै समस्या देखिन थाले पनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको उनको भनाइ थियो। 

उनले अहिले महानगर मानव जीवन बचाउने दायित्व पूरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झिन पनि अनुरोध गरे। उनले सबै विकास निर्माणको काम थाती राखेर भए पनि महानगर जीवन रक्षाका लागि लागिरहने प्रतिवद्धता जनाएका हुन्।

उनले अन्य अस्पतालमा पनि समस्या भए वा स्वास्थ्य सेवामा प्रभाव परेको जानकारी पाए त्यस्ता अस्पतालसँग पनि महानगर सहकार्य गर्न तयार रहेको बताए।

उनले भने 'अहिले हाम्रो प्राथमिकता भनेको विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग, सहकार्य गर्ने रहेको छ। आज हामीले १० वटा भेन्टिलेटर प्रदान गरेका छौ। अन्य अस्पतालहरुलाई पनि महानगरले केही सहयोग गरेर ज्यान बचाउन सकिन्छ भने त्यता लागौ भनेका छौ। हामीले सरकारी र सामुदायिक अस्पतालहरुलाई हामीले सहयोग गरिरहेका छौ। उनीहरुको सम्पर्कमा छौ। यो बाहेक कुनै पनि सहयोग तत्काल चाहियो भने काठमाण्डौ महानगरपालिका पनि एउटा सहयोगी संस्थाको रुपमा बुझिदिन म अनुरोध गर्दछु।'

विरामी भएर कोही पनि अस्पताल आउन नपरोस् भन्ने चाहाना महानगरको भएपनि अस्पतालहरुमा विरामीहरुको चाप बढेको उल्लेख गर्दै उनले आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिंगो देशलाई परिवार ठानेर विरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गरे।

उनले महामारीमा विरामीको उपचारका लागि विभिन्न भूमिकामा खटिने सबैलाई महानगरको तर्फबाट धन्यवाद पनि दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.