|

दैलेख : कोरोनाको नयाँ भेरियन्ट फैलँदै गएपछि दैलेखका स्थानीय सरकार यसको रोकथाम तथा नियन्त्रणमा सक्रिए रुपमा जुटेका थिए। ११ वटा स्थानीय सरकारले कोरोना महामारी लगायतका सरुवा रोगहरू जनस्तरमा फैलन नदिन विभिन्न योजना बनाएर काम गरिरहेका छन्।

कोरोना महामारीमा बिरामी परेका नागरिकलाई सुलभ र छिटो अस्पताल पुर्‍याउने उद्देश्यका साथ भैरवी गाउँपालिकाले दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। तत्काल बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भलाराम पंंगालिले बताए।

कोरोनाका बिरामीको उपचारकालागि पालिकास्तरमा अक्सिजनसहित १० बेडको आइसोलेसन पनि सञ्चालनमा रहेको उनले जानकारी दिए। आवश्यकताका आधारमा आइसोलेसनको संख्या पनि थप्ने योजना गाउँपालिकाले जनाएको छ।

भगवतिमाई गाउँपालिकामा अक्सिजन सहित १० बेडको आइसोलेसन तयारी अवस्थामा रहेको प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले बताए। अहिले १० बेडको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा छ। आइसोलेसनमा बेड अनुसार अक्सिजन पुर्‍याउने उद्देश्यले खरिद प्रक्रियामा गएको भए पनि अक्सिजन नपाउँदा समस्या भएको खड्काले बताए। 

नौमूले गाउँपालिकामा १० बेडको आइसोलेसन सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ। कोरोनाका बिरामीको उपचारकालागि हाल १० बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको भए पनि यहाँ अक्सिजनको अभाव रहेको निमित्त प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले बताए।

अक्सिजनको माग गरे पनि सुर्खेत, नेपालगन्ज लगायतका ठाउँमा नपाइने गरेकाले ब्यवस्थापनमा केही ढिलाई भएको शाहीले बताए। उनले एक सातामा अक्सिजनको व्यवस्थापन गर्ने गरी आफूहरू लागेको उनले जानकारी दिए।

कोरोनाका बिरामीको उपचारका लागि भन्दै महाबु गाउँपालिकाले पनि १० बेडको कोरोना अस्पतालसहित २५ बेड आइसोलेसन सञ्चालनमा रहेको जनाएको छ। अहिले २५ बेड आइसोलेसन सहित अक्सिजन पाँच सिलिन्डर रहेको स्वास्थ्य शाखा प्रमुख रमेश दशौंदिले जनाए। उनले गाउँमा आएका कोरोनासँग मिल्ने सामान्य लक्षण देखिएका नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने गरिएको बताए। 

चामुण्डाबिन्द्रासैनी नगरपालिकाले १५ बेडको आइसोलेसन तयारी अवस्थामा रहेको जनाएको छ। आइसोलेसन तयार छन् तर अक्सिजन खरिद प्रक्रियामा गएको भए पनि नपाएको प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताए। 

गुराँस गाउँपालिकाले अक्सिजन सहित ६ बेडको आइसोलेसन अस्पताल सञ्चालनमा गरेको छ। कोरोना महामारी बढ्दै गएकाले पालिकाभरका स्वास्थ्यकर्मीलाई २४ घण्टा स्वास्थ्य संस्था नछोड्न भनेको प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले बताए।

डुंगेश्वर गाउँपालिकामा तत्कालका लागि अक्सिजन सहित आठ बेडको आइसोलेसन सञ्चालनमा रहेको स्वास्थ्य शाखा प्रमुख दल बहादुर विकले जनाए। ६ वटा अक्सिजन सिलिन्डर रहेका र आवश्यकता अनुसार भरेर बिरामीको उपचार गरिँदै आएको विकले बताए। 

आठबिस नगरपालिकाले तत्कालकालागि १० बेडको आइसोलेसन तयारी अवस्थामा रहेको जनाएको छ। थप ४० बेड आइसोलेसन थप गर्ने गरी काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णनाथ योगीले बताए।

यस्तै, दुल्लु नगरपालिकाले आइसोलेसन निर्माणका लागि एकसय बेड खरिद गरेको जनाएको छ। नगर प्रमुख घनश्याम भण्डारीले नगरपालिकासँग ३७ वटा अक्सिजन सिलिन्डर रहेका र आइसोलेसन निर्माणका लागि एकसय बेड खरिद गरी निर्माणको चरणमा रहेको जानकारी दिए।

ठाटिकाँध गाउँपालिकामा अक्सिजन सहित ६ बेडको आइसोलेसन सञ्चालनमा रहेको अध्यक्ष धीर बहादुर शाहीले बताए। उनले थप १० बेडको आइसोलेसन निर्माणको काम भइरहेको भए पनि माग अनुसार अक्सिजन नपाउने गरेकोले समस्या रहेको बताए। 

नारायण नगरपालिकाले ५० बेडको आइसोलेसन सञ्चालनमा रहेको जनाएको छ। तत्कालका लागि नारायणमा ५० बेडको आइसोलेसन सञ्चालनमा रहेको भए संक्रमणको अवस्थालाई मध्येनजर गर्दै थप चारसय बेडको आइसोलेसन निर्माण गर्ने गरी काम भैरहेको नगरप्रमुख रत्न बहादुर खड्काले बताए।

थप आइसोलेसनका लागि दैलेखमा रहेको गोग भवन, कवर्ड हल, कृयाघर, बृद्धाश्रम गरी चार वटा भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्ने तयारी भइरहेको खड्काले बताए।

दैलेखमा शनिबार सम्म तीनसय ५५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। भने हालसम्म ११ जना संक्रमितको ज्यान गइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले बताए। शनिबार मात्र दैलेखमा ६७ जना संक्रमण मुक्त भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.