जाजरकोट : शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङमा गत वर्ष मंसिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिले सम्म पुगेको छैन। ठेक्का सम्झौता भएको ६ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि स्थानीयवासी खाद्यान्न अभावको समस्या भोगिरहेका छन्।
कम्पनीले गत वर्ष साल्दाङका लागि एकहजार पाँचसय क्वीन्टल चामलको कोटा निर्धारण गरेको थियो। खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले साल्दाङमा ६ सय क्वीन्टल खाद्यान्न मात्र पुगेको छ।
उक्त सेवाले छार्काताङसोङ, डोल्पोबुद्ध र शे– फोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो। दुई स्थानीय तहको चामल पुगेपनि साल्दाङमा भने अहिले सम्म पुगेको छैन। गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा सातसय र डोल्पोबुद्धको धोमा आठसय ७५ क्वीन्टल चामल पुगेर वितरण भइसकेको लिमिटेडले जनाएको छ।
चिसो र हिमपातका कारण चामल पुर्याउन केही समय ढिला भएको लिमिटेडका शाखा प्रमुख कमलराज पाण्डेले बताए। ‘चामल दुनै आएर थन्किएको छ। ठेकेदारलाई छिटो लिन आग्रह गरिएको छ’ पाण्डेले भने। केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ।
माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयले सस्तो मूल्यमा चामल पाएका छन्। यसअघि स्थानीयलाई प्रतिक्वीन्टल २० हजार रुपैयाँ तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो। कम्पनीले जिरा मसिनो चामल सातहजार र सोना चामल पाँच हजार ६ सय रुपैयाँमा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए।
कोटा अनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष टसितुन्डुप गुरुङले बताए। कोरोना महामारीका कारण चीनले नाका बन्द गरपछि माथिल्लोे डोल्पामा दुई वर्षदेखि चामल पुग्न सकेको थिएन । विगत वर्षहरूमा चीन हुँदै चामल माथिल्लो डोल्पा पठाइन्थ्यो। यो वर्ष सुर्खेत–दुनै हुँदै चामल ढुवानी गरिएको थियो।
खाद्यान्न उत्पादन कम हुँने उपल्लो डोल्पामा बाहिरबाट ल्याइएको खाद्यान्नमा निर्भर हुनुपर्दछ। केही हुने खानेले दुनैमा आएर खच्च्ड, घोडा र चौँरीमा खाद्यान्न लिएपनि अधिकांश निम्न वर्गका स्थानीयवासीहरु समस्यामा पर्ने गरेका छन्। सामानको मुल्य भन्दा ढुवानी भाडा महंगो हुँने उपल्लो डोल्पामा खाद्यान्न ढुवानीमा समस्या हुँदै आएको छ।
चिसो मौसममा तल्लो क्षेत्र झरेका सवै सर्वसाधारणहरु अहिले उपल्लो डोल्पामा जाँदा खाद्यान्नको माग व्यापक बढेको हो। उपल्लो डोल्पामा खेतीपातीको मौसम भएकाले यहाँका सर्वसाधारणहरु खाद्यान्न आपूर्तीका लागि गुहार मागिरहेका छन्। खडेरीका कारण हिउदेबाली उत्पादन नभएको यहाँ आयातित अन्नमा यो पटक धेरै भरपर्नु परको शे–फोक्सुण्डो गाउँपालिका–४ का तसी गुरुङले बताए।
कोटा बढाउन माग
अहिले निर्धारण गरिएको खाद्यान्नको कोटा भन्दा दोव्वर कोटा बढाउन स्थानीयले माग गरेका छन्। विकटता, जोखिम देखाएर तोकिएको ठाउँमा सामग्री नपुर्याइ बाटोमै छोडेर भाडा असुल्ने गरेको उपल्लो भोट क्षेत्रको सर्वसाधारणको गुनासो छ। खाद्यान्न बिक्री केन्द्र नभई डिपो नै राखेर संख्या बढाउनुपर्ने उनीहरु बताउँछन्।
अहिले कर्मचारीको रोहवरमा सिमित चामल लिएर बिक्री गरि फर्कने गरिएको छ। तर कार्यालय नै राखेर चामल आपूर्ति तथा वितरण गर्नुपर्ने उपल्लो डोल्पालीको माग छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।