|

काठमाडौं : कैलाली, बाँके, वीरगन्ज, दाङ र मोरङमा  गरी कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। 

कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म तीन जनाको धनगढीस्थित सेती अस्पताल र तीन जनाको निजी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

सेती अस्पतालमा धनगढीका ५० र ४५ वर्षीय पुरुष र कन्चनपुरका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै निजी अस्पतालमा कैलाली लम्कीचुहाका ४३ वर्षीय पुरुष र टिकापुरका ५० वर्षीय दुई जना पुरुषको मृत्यु भएको जोशीले जानकारी दिए। 

यस्तै बाँकेमा ७ जनाको मृत्यु भएको छ।  नेपालगन्ज उपमहानगरपालिका–१५ का ७३ वर्षीय पुरुष, नेपालगन्ज–२ की ५३ वर्षीया महिला र नेपालगन्जकै ४३ वर्षीय पुरुष मृत्यु भएको हो। यस्तै दाङको तुल्सीपुर– ६ का ४१ वर्षी पुरुषको मृत्यु भएको छ। बाँकेकै भेरी अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ। बर्दियाका दुई महिला र दाङकी एक वृद्धाको मृत्यु भएको हो। बर्दिया बढैयातालकी ६५ वर्षीया र ३० वर्षीया महिला तथा दाङकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। 

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा हिजो बेलुकी २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १२ का ७५ वर्षीय पुरुष र घोराही १८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए। 

यसैबीच वीरगञ्जमा थप २ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरका ६० वर्षीय वृद्धको आज बिहानै हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ । वीरगन्ज ३ की ७२ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए। पर्सामा आज थप ८५ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ६४ जना पर्साका र अरु बारा, सर्लाही र रौतहटका छन्। 

यसै गरी मोरङमा थप एक जना संक्रमितको कोरोनाबाट निधन भएको छ। मोरङको ग्रामथान गाउँपालिकाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको शनिबार राति १०:१५ बजे मृत्यु भएको हो।

प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चूडामणि पोखरेलका अनुसार वैशाख १५ गते अस्पतालमा भएका ती पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरुषमा कुनै दीर्घरोग नरहेको अस्पतालले जनाएको छ। शव व्यवस्थापनको तयारी भइरहेको डा। पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.