दक्ष चिकित्सक अभाव हुँदा उपचारमा समस्या

|

पाल्पा : कोरोना (कोभिड-१९) महामारी फैलँदै गएपछि पाल्पास्थित स्थानीय तहका अधिकारीहरू अक्सिजनयुक्त शय्या बनाउन व्यस्त भएका छन्‌।

​जिल्लामा केही दिनयता कोरोना संक्रमित संख्या ह्वात्तै बढेको छ। मानवीय हताहती पनि बढिरहेको छ।

अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। गम्भीर प्रकृतिका बिरामी अस्पतालमा भर्ना भइ उपचाररत छन्। जिल्ला भित्रका अस्पतालमा शय्या र अक्सिजन अभाव हुन थालेको छ।

जिल्लामा सरकार मातहतको पाल्पा अस्पताल तथा दुईवटा निजी अस्पताल (युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज) छन्। यी अस्पतालमा अक्सिजनसहित शय्या पर्याप्त छैनन्। जसले गर्दा बिरामी उपचार नपाएर नै मर्नुपर्ने अवस्था आएको छ। 

अक्सिजनयुक्त शय्याको अभावले अनाहकमा ज्यान गुमाउन नपरोस् भनि यहाँका स्थानीय तहले विभिन्न प्रयास थालेका छन्। यहाँ २ वटा नगरपालिका र ८ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह छन्।

यी स्थानीय तहले यहाँका मानिसलाई तत्काल अक्सिजनसहित प्रारम्भिक उपचार दिन आइसोलेसन शय्या निर्माण गरिरहेका हुन्।

तानसेन नगरपालिकाले अक्सिजनयुक्त ५० शय्या बनाउने

जिल्लाको सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाले ५० शय्याको अक्सिजनयुक्त आइसोलेसन निर्माण गर्ने नगरप्रमुख अशोककुमार शाहीले बताए। तत्काल अक्सिजनयुक्त ३० शय्या तयार गर्ने काम भइरहेको उनले जानकारी दिए।

पाल्पा अस्पतालसँग सहकार्य गरेर अस्पतालकै भवनमा शय्या निर्माण गर्न लागिएको हो। अक्सिजन, सिलिन्डर लगायत अन्य भौतिक संरचनाका लागि नगरपालिकाले सहयोग गर्नेछ। चिकित्सकीय प्राविधिक सहयोग अस्पतालबाट हुने शाहीले बताए। यहाँ एमबीबीएस डाक्टर छन्। 

उनका अनुसार कोरोना परीक्षण दायरा फराकिलो बनाउन वडा वडामा पुगेर नगरपालिकाले पीसीआर र एन्टिजेन परीक्षण गर्ने योजना छ। संक्रमितको अवस्था ख्याल गरेर होम आइसोलेसन र अस्पताल भर्ना हुन सल्लाह दिने उनले बताए।

उनका अनुसार १०० शय्याको क्वारेन्टाइन निर्माण गर्ने योजना रहेको तथा सशुल्क होटलको आइसोलेसनमा बस्ने व्यवस्था मिलाइएको छ।

‘कोरोना महामारीबाट बाँच्ने सबैभन्दा उत्तम उपाय मानिस मानिसबीच प्रत्यक्ष सम्बन्ध विच्छेद गर्नु नै हो,’ उनले भने, ‘यसको लागि सचेत हुन आवश्यक छ। अत्यावश्यक काम बाहेक घरबाहिर निस्कनु हुँदैन।’

गरीब तथा विपन्न परिवारका लागि आवश्यक खाद्यसामग्री घरमै उपलब्ध गराउने शाहीले बताए। घरमै बस्नुपर्ने बाध्यताले खान समस्या भएमा तत्काल वडा वा नगरपालिकाका जनप्रतिनिधिलाई खबर गर्न उनले अनुरोध गरेका छन्‌।

लुम्बिनी मेडिकल कलेजसँग सहकार्य गरेर घरघरमै औषधि पुर्‍याउने व्यवस्था मिलाउने उनले बताए। स्वास्थ्य र सरसफाइ शाखा चौबीसै घण्टा तयारी अवस्थामा रहनेछन्। 

रामपुर नगरपालिका र सामुदायिक अस्पतालबीच सहकार्य 

रामपुर नगरपालिकाले स्थानीय सामुदायिक अस्पतालसँग सहकार्य गरेर कोरोना संक्रमितको उपचार भइरहेको नगर प्रमुख रमणबहादुर थापाले बताए।

उनका अनुसार रामपुर सामुदायिक अस्पतालमा अक्सिजनयुक्त १० शय्याको आइसोलेसन तयार गर्ने काम भइरहेको छ। यहाँ ५० शय्याको अक्सिजनयुक्त आइसोलेसन बनाउने योजना सुनाए। आवश्यक भौतिक संरचना निर्माणको लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने छ। प्राविधिक सहयोग अस्पतालबाट हुनेछ।

टंकनाथ स्मृति भवन सामान्य आइसोलेसन र गणेशमान प्रतिष्ठान भवनमा क्वारेन्टाइन बनाइने उनले बताए। लक्षण देखिएका र अक्सिजन आवश्यक पर्नेलाई अक्सिजनयुक्त आइसोलेसनमा राखिने छ।

सामान्य अवस्थाका संक्रमितलाई होम आइसोलेसनमा बस्न उनले आग्रह गरे। घरमा व्यवस्थित नभएकालाई स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा राखिने छ।

रम्भाले पीसीआर र एन्टिजेन परीक्षणलाई प्राथमिकता दिने  

यहाँ २ वटा आइसोलेसन केन्द्र निर्माण गरिएको छ। यस गाउँपालिकामा कन्ट्रयाक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गरी पीसीआर र एन्टिजेन परीक्षण गर्ने कामलाई प्राथमिकता दिएको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

हुँगीथित जनकल्याण माध्यमिक विद्यालयमा ५ र ताहुँस्थित रम्भा माध्यमिक विद्यालयमा अक्सिजनयुक्त ५ शय्या तयार भएको उनले बताए। उनका अनुसार आइसोलेसन केन्द्रमा डाक्टर नै उपलब्ध हुनेछन्। एउटा केन्द्रमा २ जना स्टाफ नर्स र एक कार्यालय सहयोगी चौविसै घण्टा बस्नेछन्।

स्वास्थ्यकर्मी घरघरमा पुगेर कोरोना संक्रमितका स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको उनले दाबी गरे। न्यून आर्थिक अवस्था भएका संक्रमित व्यक्तिको उपचार खर्च गाउँपालिकाले ब्यहोर्नेछ। गाउँपालिकादेखि अक्सिजनसहित बिरामीलाई अस्पतालसम्म गाउँपालिकाले नै पुर्‍याउने उनले बताए।

कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनको खर्च गाउँपालिकाले नै बेहोर्ने भण्डारीले बताए। दैनिक २ वटा गाडीमा गाउँगाउँ पुगेर माइकिङमार्फत सचेतनामूलक सन्देश प्रवाह गरिरहेको उनले बताए।

६० शय्याको आइसोलेसन बनाउने पूर्वखोलाको योजना

यहाँ कोभिड अस्पताल निर्माण गरिएको छ। अस्पतालमा अक्सिजनसहितका १० शय्या तयारी अवस्थामा रहेका गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए।

यहाँ २ जना स्टार्फ नर्स र १ जना कार्यालय सहयोगी छन्। प्रत्येक वडामा २५ शय्याको क्वारेन्टाइन निर्माण गर्ने योजना छ। ६० शय्याको आइसोलेसन बनाइने योजना सुनाए। क्वारेन्टाइन र सामान्य आइसोलेसन गरी २० वटा शय्या पनि निर्माण गरिएको छ।

८ लाख रुपैयाँ बजेट विनियोजन गरेर कोरोना रोकथाम तथा उपचार प्रक्रियाको लागि काम थालिएको छ। विपन्न कोरोना संक्रमितको उपचार खर्च गाउँपालिका बेहोर्ने उनले बताए। 

निस्दीले सबै वडाका स्वास्थ्य चौकीमा अक्सिजनयुक्त आइसोलेसन बनाउने 

निस्दी गाउँपालिकामा ५ शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण भएको छ।

ढुंगानावेशीमा रहेको महिला सहकारी भवनमा आइसोलेसन निर्माण गरिएको हो। थप ५० थान अक्सिजनका सिलिण्डर ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले बताए। तर, सिलिण्डर खरिद गर्न नपाइएको उनले बताए।

यहाँका सबै वडाका स्वास्थ्य चौकीमा अक्सिजनयुक्त आइसोलेसन बनाइनेछ। सामान्य अवस्थाका बिरामीको स्वास्थ्य चौकीमै उपचार गर्ने व्यवस्था हुने छ। जटिल बिरामीलाई ठूला अस्पतालमा रेफर गरिने उनले बताए।

चालू आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन गरेर कोराना रोकथामका लागि विभिन्न काम गरिरहेको सारूले बताए। यो रकम भैपरी आउने कुनै पनि विपत्तिका बेला खर्च गरिने छ। 

बगनासकालीले संक्रमितको घरघरमै औषधि पुर्‍याइदिने

पालिकावासीलाई घरबाट बाहिर ननिस्कन भनिएको र भारतसहित तेस्रो मुलुकबाट आएकाहरू अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने नियम बनाइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बश्यालले बताए।

कोरोनाको कुनै लक्षण देखिए घरमै पीसीआर वा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको तथा लक्षण देखिएका संक्रमितलाई प्रारम्भिक उपचार गर्न वडा नम्बर २ स्थित पोखराथोकमा रहेको सामुदायिक भवनमा अक्सिजनयुक्त १० शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको उनले जानकारी दिए।

यहाँ स्टाफ नर्स २ र कार्यालय सहयोगी १ जना छन्। डाक्टरले दिनहुँ सेवा दिनेछन्। पाल्पा अस्पतालसँग समन्वय गरेर यहाँ डाक्टर ल्याइने उनले बताए।

घरमा सुरक्षित क्वारेन्टाइन बस्ने अवस्था नभए स्थानीय सरकारले क्वारेन्टाइनको व्यवस्था मिलाउनेछ। जनप्रतिनिधि र स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने गरेको उनले बताए। आवश्यकता अनुसार औषधि लिएर स्वास्थ्यकर्मी नै संक्रमितको घरमा पुगेका बस्यालले बताए।

विपन्न तथा गरिब परिवारका कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने भएको छ। आर्थिक अवस्था अत्यन्तै न्यून भएका परिवारलाई कोरोना संक्रमण भइ उपचार गर्नु परेमा अस्पतालमा लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने निर्णय गरेको उनले बताए।

गाउँपालिका भित्रका कुनै पनि नागरिकले पैसा अभावका कारण अनाहकमा ज्यान गुमाउन नपर्ने उनले बताए। उनका अनुसार पाल्पाको तानसेनस्थित पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्नेछ।

माथागढीमा अक्सिजनयुक्त १५ शय्यायुक्त आइसोलेसन तयार

यहाँ अस्थायी कोरोना अस्पताल निर्माण गरिएको छ। वडा नम्बर ४ झडेंवाको देउगिरमा रहेको अस्पतालमा अक्सिजनयुक्त १५ शय्याको आइसोलेसन तयारी अवस्थामा छ। कोरोना अस्पताल गाउँपालिकाको बहुउद्देश्यीय सभा हलमा निर्माण गरिएको छ।  

अर्को सानो बैठक हलमा पनि थप शय्या राख्ने तयारी भइरहेको अध्यक्ष सन्तोष थापाले बताए। अस्पतालमा २ जना स्टाफ नर्स र एकजना कार्यालय सहयोगी रहेको उनले बताए। 

कोरोना संक्रमति अहिले होम आइसोलेसनमा बसिरहेका छन्। उनीहरूको अवस्थाबारे स्वास्थ्यकर्मीले निगरानी गरिरहेका थापाले बताए। यहाँ २ वटा एम्बुलेन्स तयारी अवस्थामा छन्। आर्थिक रुपमा विपन्न परिवारलाई उपचार खर्चमा गाउँपालिकाले सहयोग गर्ने उनले बताए। ​

रिब्दीकोटमा डाक्टरसहित अक्सिजनयुक्त आइसोलेसन 

रिब्दीकोट गाउँपालिकाले खस्यौलीमा कोभिड अस्पताल स्थापना गरिएको छ। यहाँ अक्सिजनसहित ५ शय्याको आइसोलेसन निर्माण गरिएको छ।

२ जना एमबीबीएस डाक्टर डाक्टरले सेवा दिने गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। उनका अनुसार २ जना स्टाफ नर्सले चौविसै घण्टा ड्युटी गर्छन्। १ जना कार्यालय सहयोगी छन्। देउरालीमा  २० शय्याको आइसोलेसन केन्द्र निर्माण भएको छ। यहाँ अक्सिजनयुक्त शय्या बनाउने काम भइरहेको अध्यक्ष उनले बताए।

कुसुमखोलामा १५, बतासेमा रहेको आयुर्वेद भवनमा १५ र सोही स्थानमा रहेको सभाहलमा १५ वेडको आइसोलेसन बनाइनेछ। ३ वटा एम्बुलेसन्स तयारी अवस्थामा छन्। गत वर्ष बिरामी बोक्ने एम्बुलेन्स नपाएपछि अहिले गाउँपालिकाले नै एम्बुलेन्स तयारी अवस्थामा राखेको अध्यक्ष जिसीले बताए। 

भारतसहति तेस्रो मुलुकबाट गाउँघर आएका मानिसको पीसीआर तथा एन्टिजेन परीक्षण गरिने छ। उनीहरू अनिवार्य होम आइसोलेसन बस्नुपर्नेछ। घरमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीले जानकारी लिने काम गरिरहेको उनले बताए।

यहाँ स्वास्थ्य स्वयंसेविकाको सहभागितामा सर्वदलीय सहयोग समिति नै बनाइएको छ। प्रत्येक स्वास्थ्य चौकीमा मास्क, सेनिटाइजर साबुन वितरण गरिएको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका उपायबारे स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीबीच बेलाबेलामा अन्तरक्रिया हुने गरेको उनले बताए।

तिनाउमा अक्सिजनसहितको कोरोना अस्पताल स्थापना 

तिनाउ गाउँपालिकामा तिनाउ कोरोना अस्पताल स्थापना गरिएको छ। यहाँ १० शय्याको आइसोलेसन केन्द्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए।

गाउँपालिका, खानी उद्योग र टिपर व्यवसायीको आर्थिक सहयोगमा अस्पताल निर्माण भएको हो। २९ लाख लगानीमा अस्पताल बनाइएको छ। 

अस्पतालमा अक्सिजनयुक्त १० आइसोलेसन शय्या तयारी अवस्थामा रहेका गाउँपालिका अध्यक्ष घर्तीमगरले बताए। दोभानमा निर्माण गरिएको अस्पतालमा २ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहनेछन्। 

अक्सिजनको आवश्यकता पर्ने संक्रमितलाई यस अस्पतालमा राखेर उपचार गरिने उनले बताए। यहाँ खान, बस्न, डाक्टरबाट पाइने सेवा र सामान्य औषधि निःशुल्क पाइने व्यवस्था हुनेछ।

यस्तै २० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। दोभान माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष घर्तीमगरले बताए। घरमा सुरक्षित बस्ने व्यवस्था नभएका व्यक्तिलाई यहाँ राखिनेछ।

रैनादेवी छहरामा ५ शय्याको अक्सिजनयुक्त आइसोलेसन 

यहाँ ५ शय्याको अक्सिजनयुक्त आइसोलेसन तयारी अवस्थामा छ। पुरानो स्वास्थ्य चौकीमा कोभिड अस्पताल निर्माण गरिएको छ।

अस्पतालमा अक्सिजनयुक्त शय्याको व्यवस्था रहेको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए। अक्सिजनयुक्त आइसोलेसन १० शय्याको बनाइने उनले बताए। 

तर, अन्य गाउँपालिकाको तुलनामा यहाँ रोकथामका काम हुन सकेका छैनन्। गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण भएपछि काम गर्न नसकिएको पोखरेलले बताए।

८ वटा गाउँपालिका मध्य सबैभन्दा बढी कोरोना संक्रमित यस गाउँपालिकामा छन्। वडा नम्बर ३ भुवनपोखरी सील गरिएको पोखरेलले बताए। संक्रमित नभएका जनप्रतिनिधि, कर्मचारीले कोरोना नियन्त्रण तथा रोकथामका लागि काम लागि रहेको उनले बताए।

अक्सिजन भन्दापनि सिलिण्डर अभाव

दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना निकै कडा खालको मानिएको छ। यसले संक्रमण भएपछि प्रायः बिरामीलाई अक्सिजन आवश्यकता पर्दछ। कतिपय अक्सिजनकै अभावले ज्यान गुमाएका छन्। त्यसलै अहिले तीनै तहका सरकार अक्सिजनको जोहो गर्न थालेका छन्। 

पर्याप्त मात्रामा अक्सिजनका सिलिण्डर पाउन नसकिएको तानसेन नरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए। तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलजले अक्सिजन उत्पादन गरिरहेका छन्।

पाइपमार्फत बिरामीलाई अक्सिजन वितरण गरिएको छ। उत्पादन गरेको अक्सिजन सञ्चित गर्नको लागि खाली सिलिण्डर नभएको उनले बताए। निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले बुटवलसहित विभिन्न बजारमा पुग्दासमेत सिलिण्डर किन्न नपाएको बताए। सिलिण्डर व्यवस्थाका लागि संघीय सरकारले नै पहल गर्नुपर्ने उनले बताए। 

दक्ष डाक्टर अभाव हुँदा उपचारमा चुनौती

योग्य र दक्ष डाक्टरको अभावले अक्सिजनयुक्त आइसोलेसन प्रभावकारी नहुने देखिएको छ। अधिकांश गाउँपालिकामा स्टाफ नर्स छन्। उनीहरूलाई कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारी सुम्पिएको छ। स्टाफ नर्सले अक्सिजन दिन पर्ने बिरामीको उपचार गर्नुपर्ने हुन्छ। 

अहिले स्थानीय तहमा गरिएका तयारीले बिरामीलाई जोखिम हुने देखिन्छ। अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार गर्न कम्तिमा मेडिकल अफिसर्ससम्म भए राम्रो हुने पाल्पा अस्पतालका प्रमुख डाक्टर जगदीश कुँवरले बताए।

‘सिलिण्डरको अक्सिजन खोल्ने र बन्द गर्न मात्रै हो भने त ठीकै हो,’ उनले भने, ‘तर बिरामीको अन्य स्वास्थ्य अवस्थाबारे जानकारी लिन डाक्टर नै आवश्यक पर्दछ।’ यद्यपि अनुभवी वा तालिम प्राप्त स्टाफ नर्सले सामान्य ख्याल गर्न सक्ने उनी बताउँछन्।

अक्सिजन आवश्यक पर्ने बिरामीको स्वास्थ्यमा धेरै समस्या हुनसक्ने भएकाले दक्ष डाक्टर चाहिने उनले बताए। अधिकांश स्थानीय तहका आइसोलेसन केन्द्रमा खटिएका स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे निर्णय लिन सक्ने अवस्था छैन।

बिरामीको अवस्था हेरेर डिस्चार्ज गर्नुपर्ने, केही दिन राखेर उपचार गर्नुपर्ने वा रेफर गर्नेबारे निर्णय लिन कठिन हुने डाक्टर कुँवरले बताए। कतिपय बिरामीलाई उसको अवस्था हेरेर आइसियू वा एचडियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ। उनी थप्छन् यसबारे निर्णय लिनको लागि डाक्टर नै भए राम्रो हुन्छ।

कोभिडका बिरामीलाई अक्सिजनसँगै छातीको एक्सरे गर्नुपर्ने हुन्छ। निमोनिया भएका बिरामीको बढी निगरानी गर्नुपर्छ। तर स्थानीय तहमा निर्माण गरिएका आइसोलेसन केन्द्रमा वा नजिकै एक्सरे गर्ने व्यवस्था छैन। निमोनिया नभएका बिरामीलाई घरमै राखेर पनि अक्सिजन दिन सकिने उनले बताए। निमोनियाको अवस्था पत्ता लगाउन एक्सरे अनिवार्य हुनुपर्छ।

अक्सिजनको मात्रा र एउटा सिलिण्डरले कति समय थेग्न सक्छ भन्नेबारे पनि ख्याल गर्नुपर्छ। ठूलो खालको सिलिण्डरले बढीमा १८ घण्टासम्म काम गर्छ। त्यही पनि एउटै सेटमा दिएमा। त्यसको सेट बढाए थोरै समयमा सकिने डाक्टर कुँवरले बताए। उनका अनुसार ४२ लिटर भएको अक्सिजनको सिलिण्डरले बढीमा १८ घण्टासम्म काम गर्छ। अधिकांश स्थानीय तहले साना सिलिण्डरको अक्सिजन खरिद गरेका छन्। 

सबै स्थानीय तह मिलेर केन्द्रीकृत अक्सिजनयुक्त आइसोलेसन केन्द्र निर्माण गर्न उनले सुझाए। अहिले प्रत्येक स्थानीय तहले आ–आफ्नै तरिकाले तयार गरिएको आइसोलेसनका कारण खर्च बढेको छ। जनशक्तिको कमी भएको छ। बिरामीले गुणस्तरीय उपचार पाएका छैनन्। 

सबै गाउँपालिका मिलेर आवश्यक उपकरणसहितको सुविधा सम्पन्न आइसोलेसन केन्द्र एउटै ठाउँमा निर्माण गरे बिरामीले गुणस्तरीय उपचार पाउने कुँवरले बताए।

जिल्लाको सदरमुकामस्थित कुनै ठाउँमा सामुहिक आइसोलेसन केन्द्र निर्माण गरेमा खर्च कम, थोरै संख्याका जनशक्तिले बिरामीको गुणस्तरीय उपचार गर्न सक्ने कुँवरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.