|

भक्तपुर : कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि भक्तपुर प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको छ। गत बिहीबार राति अक्सिजन अभावमा भक्तपुरको एक निजी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएपछि प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको हो।

यही क्रममा प्रहरीले हालसम्म २० वटा अक्सिजनसहित सिलिण्डर र ७५ वटा खाली सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई उपलब्ध गराएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पताललाई पाँच र ललितपुरको अल्का अस्पताललाई तीनवटा अक्सिजनसहितको सिलिण्डर उपलब्ध गराएको छ।

त्यस्तै, भक्तपुर अस्पताललाई ५० र मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ वटा खाली सिलिण्डर प्रदान गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीले ती सिलिण्डर हाल सञ्चालन नभएका उद्योग कलकारखाना, वर्कशप, कवाडी संकलन केन्द्र, जिमखानालगायतका क्षेत्रबाट संकलन गरेको हो। प्रहरी नायब निरीक्षक गिरीले अन्य क्षेत्रमा पनि ग्यास सिलिण्डर खोजी गरिने र आवश्यकताअनुसार अस्पताललाई उपलब्ध गर्ने बताए। परिसरमा हाल ३७ वटा खाली सिलिण्डर रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.