|
फाइल तस्बिर

काठमाडौं : पछिल्लो समय नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ। यसबाट बाँके जिल्ला पनि अछुतो छैन्। अहिले जिल्ला हटस्पट बनेको छ। बाँकेको कोभिड उपचार गर्ने भेरी अस्पतालमा उपचारका लागि खाली बेड छैन्। अक्सिजन अभाव छ। जसकारण संक्रमित बिरामी अकालमै ज्यान गुमाइरहेका छन्। 

भेरी अस्पतालका फिजिसियन सूचना अधिकारी डा. संकेत रिसालले उपचारका लागि काेभिड बिरामी थेग्नै नसकिएको बताउँछन्। उनी भन्छन,‘बाँके जिल्ला भयावह छ। अस्पतालमा बिरामीकाे खचाखच छ। बेडहरु खाली छैनन्। बिरामीहरु सिकिस्त छन्।’

उनका अनुसार कोभिड उपचारका लागि एकसय ४२ वार्ड छुट्याएको थियो। तर, अस्पतालमा शनिबार साँझ सम्म तीनसय १९ कोभिड बिरामी भर्ना भएका छन्। चारसय १५ जनामा पिसिआर परीक्षण गर्दा शनिबार मात्र तीनसय ८५ जनामा पोजिटिभ देखिएकाे थियाे। 

सीमामा छैन कडाई 

अस्पतालका फिजिसियन सूचना अधिकारी डा. रिसालले सीमानामा कडिकडाउ नगरिँदा संक्रमण फैलिएको बताए। उनका अनुसार पहिलो चरणको लकडाउनमा बाँके जिल्लाका सीमामा क्वारेन्टाइन र चेकजाँचको व्यवस्था थियो। पोजिटिभ देखिएकालाई १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था थियो।

उनले भने,‘पाेहाेरकाे जस्ताे यसपाली सीमामा कडाई र चेकजाँच गरिएकाे पाइएन। अहिले सम्म पनि जमुनाहा बोर्डर खुला छ। दैनिक हजार जना भारतबाट नेपाल प्रवेश गरिरहेका छन्। मैले नेपाल नआउन भनेको छैन तर,व्यवस्थापन हुनुपर्यो। चेकजाँच छैन,पहिला जस्तो चेकजाँच भए संक्रमण नियन्त्रण गर्न सकिने सम्भावना थियो।’ 

उनले जिल्लाभर कडा लकडाउन गर्नुपर्ने बताए। ‘बाँकेमा लकडाउन जारी छ तर बन्द छैन। स्वास्थ्यमा इमर्जेन्सी लगाएर कडा रुपले कम्तिमा तीन हप्ता लकडाउन भयो भने केसहरु घट्छ’,उनले भने।

बाँकेमा मात्र नभई कोभिड संक्रमणलाई चेन ब्रेक गर्न सबै जिल्लामा कडा लकडाउन गरिनुपर्ने पनि उनी बताउँछन्। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले दिएको स्वास्थ्य मापदण्ड बाँके जिल्लाका सर्वसाधारणले पालना नगर्दा दैनिक संक्रमण बढेको उनको भनाई छ।

उनले भने,‘बिरामी नहुन्जेल अस्पताल आउँदैनन्, ज्वरो, टाउको दुख्ने खालका सिकिस्त भएर आउँछन्, सर्वसाधारण सचेत नभइ दीनाले पनि केसहरु बढिरहेको छ।' 

प्रशासन के भन्छ ?

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल कोभिड परीक्षण गरेरमात्र नाकाबाट नेपालमा प्रवेश गराइरहेको दाबी गर्छन्। ‘जमुनाहा नाकाबाट दैनिक १५ सयदेखि २५ सय जना सम्म भारतबाट नेपालमा आउने गरेका छन। उनीहरुको लागि कोभिड परीक्षण गर्न एउटा स्वास्थ्य टोली राखेका छौ।

कसैलाई पोजिटिभ देखिएमा साधनबाट अस्पताल लाने व्यवस्था गरेका छौं’ गेलालले भने। उनले निषेधाज्ञालाई कडाइ गर्न जिल्लाभर र नाकामा नियमित प्रहरीहरु परिचालन गरिएकाे बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.