|

काठमाडौं : एमाले नेता माधवकुमार नेपाल समूहको सामूहिक राजीनामा आजको लागि रोकिएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि राजीनामा रोकिएको हो।

ओलीले आफ्नो कदम नसच्चाए नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो। तर, संसद् सचिवालयमा माधव समूहको सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए।

दुवै पक्षले आ-आफ्नो कुरा राखेको भए पनि कुरा मिल्न सकेको छैन। नेता नेपाललाई भेटेर फर्केपछि नेता पौडेलले राजीनामाबारे विचार गर्ने आश्वासन दिएको बताए।

​उनले सञ्चारकर्मीहरूसँग भने, ‘उहाँले राजीनामाबारे विचार गर्छु भन्नुभएको छ। उहाँहरु विनाशको बाटोमा जानुहुन्छ भन्ने मलाई लागेको छैन।’

यस्तै बैठकपछि नेम्वाङले पनि माधव समूहको राजीनामाको कुरा चर्चा मात्रै भएको बताए।

उनले भने, ‘राजीनामको विषयलाई चर्चा मात्रै हो। हामीले उहाँलाई सोधेका थियौँ। तर, उहाँले पनि त्यसबारेमा थाहा पाएजस्तो गर्नुभएन। म सबैकुरा सकारात्मक मात्रै देख्छु।’ ओली पक्षका नेता पौडेल र नेम्वाङ निस्केपछि नेता नेपालले आफू पक्षका सांसदहरुसँग छलफल चलाइरहेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.