|

विराटनगर : नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलले प्रदेश भरिका निजी तथा सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याउन माग गरेको छ।

आइतबार विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलले यस्तो माग गरेको हो। दलले सरकारी नीतिका कारण संक्रमितहरु अस्पताल नपुगी ज्यान गुमाउन बाध्य रहेको अवस्थालाई दृष्टिगत गर्दै प्रदेशमा भरपर्दो उपचार व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।

संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारको संवेदनहिनताका कारण प्रदेशमा कोरोना संक्रमणको दर उच्च भएको भन्दै उपचारको यथोचित प्रबन्ध मिलाउन माग गरे।

हाल सरकारले प्रदेशका ६ ठूला अस्पतालहरुमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ। तर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा सरकारले एकसय ५० बेडको गलत प्रचार गरि ३० बेड मात्र सञ्चालनमा ल्याएको संसदीय दलका प्रमुख सचेतक कार्कीको आरोप छ।

‘विपी प्रतिष्ठानलाई सरकारले एकसय ५० बेडको कोरोना अस्पताल भनी गलत प्रचारबाजी ग¥यो’, उनले भने, ‘तर हाल ३० बेड मात्र सञ्चालनमा छ। त्यो पनि भरिएको छ। आम नागरिकले गेटबाटै फर्किनुपर्ने र बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता छ।’ अहिले प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि संक्रमितहरुले भरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ।

दलका अनुसार हाल यी दुई अस्पतालहरुमा आइसियू एकसय ४०, एचडीयू ८४, भेन्टिलेटर १०, पिआइसियू ६ र एनआइसियू तीन र अक्सिजनसहितको तीनसय ९७ बेडको व्यवस्था छ। तर सरकारले भनेअनुसारको शैया, भेन्टिलेटर र आइसियूहरु पनि पूर्ण क्षमतामा सञ्चालनमा नरहेको दलको दाबी छ। सरकारले समयमै आफ्नो दायित्व बोध नगर्दा प्रदेशमा कोरोना संक्रमणले भयावह रुप लिएको दलका प्रमुख सचेतक कार्कीको भनाई छ।

प्रदेश १ मा बैशाख १७ गते ३३ दशमलव ३० प्रतिशतमा रहेको कोरोना संक्रमण दर बैशाख २५ गतेसम्म आइपुग्दा वृद्धि भएर ४९ दशमलव २३ प्रतिशतमा पुग्नु सरकारका लागि लज्जाको बिषय भएको उनले बताए। सरकार सत्ताको मोलमोलाइमा लागिरहेकै कारण आमनागरिकले उचित उपचारको अभावमा होम आइशोलेसनमै ज्यान गुमाउनुपरेको कार्कीको आरोप छ।

कोरोना महामारीका बेला सरकार निष्क्रिए भएको भन्दै उनले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको उनले बताए। कोरोना महामारी सरकारका लागि पैसा कमाउने मेलो भएको उनको आरोप छ।

‘कोरोनाको खोपदेखि औषधिको डोज सम्ममा कमिसनको खेल भएको छ’, उनले भने, ‘अघिल्लो पटक प्रधानमन्त्रीको संरक्षणमा ओम्नी समूह लगायतले गरेको अपराध यसपटक पुनः केही ठूला व्यापारीहरुले गर्दैछन्।’

संघीय सरकार अपराधी, तस्कर र बिचौलियाहरुको जालोमा रहेको कांग्रेस संसदीय दलको आरोप छ। यस्तो अवस्थामा प्रदेश सरकार पनि संघीय सरकारको लाचार छायाँ बनेर बसेको उसले आरोप लगाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.