|

तनहुँ : उपचारका लागि ल्याइँदै गर्दा आइतबार तनहुँमा कोभिड १९ का संक्रमितको ज्यान गएको छ। संक्रमणबाट भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। 

वैशाख १० गते काठमाडौंबाट घर आएका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि पोखरास्थित ओम अस्पतालमा पिसिआर परीक्षण गर्दा नतिजा पोजिटिभ आएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए।

‘उपचारको लागि पोखरा, दमौलीलगायत अस्पतालमा आउने जाने चलिरहेको थियो, आज पुनः श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको केही समयमा ज्यान गएको हो,’ भट्टराईले भने। 

अस्पतालले समयमा कोभिडको बिरामीको भर्ना नलिएर घर फिर्ता पठाएको परिवारका सदस्यहरुको आरोप छ। ‘११ बजे अस्पतालमा ल्याइपुर्‍याएको भएपनि अस्पताका चिकित्सकले पिपिई लगाउन समय लगाएको र समयमा बिरामीलाई नहेरिदिदाँ एम्बुलेन्समै ज्यान गएको हो,’ मृतकका छोरा सुनिलले भने, ‘दमौली अस्पतालमा पहिलो पटक बिरामी ल्याइएको होइन, हामीले बुवालाई बढी समस्या भएपछि नजिकको अस्पताल भनेर यहाँ ल्याएका थियौं, अस्पतालले समयमा भर्ना लिएन र ज्यान गयो।’

मृतकका परिवारले रातिमा भएको चिकित्सकले माफी माग्नुपर्ने माग राखेका छन्। रातमा ड्युटीमा रहेका चिकित्सकले बिरामीको भर्ना नलिएका उनीहरुको गुनासो छ। अस्पतालले भने बचाउने अवस्था नरहेकाले रिफर गर्न अवस्था पुगेका बेला मृत्यु भएको जनाएको छ। 

प्रेसर र सुगरका बिरामीसमेत रहेका ती पुरुषको दमौली अस्पतालमा उपचार क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याइएको हो। ‘संक्रमित पुरुषको शव व्यवस्थापनका लागि कालीभन्जन गण (ई) लाई पत्र पठाएका छौं, उहाँहरु आएर शवको व्यवस्थापन गर्नुहुनेछ,’ अधिकारीले भने। 

यससँगै कोरोना संक्रमणबाट तनहुँमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। पहिलो चरणको कोरोना संक्रमणबाट २५ र दोस्रो चरणको संक्रमणबाट ३ गरी जिल्लामा कुल २८ संक्रमितको ज्यान गएको छ।

शवको व्यवस्थापनका लागि अहिले बैठक बसिरहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.