|

पर्वत : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दुद्वारा जारी गरिएका विभिन्न विज्ञप्तिमा यसको पुष्टि गरिएको छ।

निर्देशनालयको पहिलो विज्ञप्तिमा अनुसार मृत्यु भएकाहरूमा कास्कीको पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय पुरुष छन्। वैशाख २० गते सङ्क्रमण पुष्टि भएका ती पुरुषको आइतबार बिहान उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो।

यस्तै रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–८ का ६० वर्षीय पुरुषको पनि उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा नै मृत्यु भएको छ। वैशाख २३ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषको शनिबार राती मृत्यु भएको हो।

स्याङ्जाको वालिङ नगरपालिका–३ का ४५ वर्षीय  पुरुषको शनिबार दिउँसो उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। ती पुरुषमा गत वैशाख २१ गते सङ्क्रमणको पुष्टि भएको थियो।

कास्कीको पोखरा महानगरपालिका–९ की ३१ वर्षिया महिलाको पनि सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएको छ। वैशाख १८ गते सङ्क्रमणको पुष्टि भएकोमा उनलाई उपचारको लागि मेडिप्लस अस्पताल पोखरामा राखिएको थियो। उनको उपचारकै क्रममा शनिवार राती मृत्यु भएको हो।

मृत्यु हुने पाँचौँ व्यक्ति म्याग्दीको मालिका गाउँपालिका–५ का ५८ वर्षिय पुरुष रहेका छन्। वैशाख १८ गते सङ्क्रमणको पुष्टि भएकोमा उनको उपचारको क्रममा वैशाख २४ गते साँझ मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। यस्तै स्याङ्जाको गल्याङ नगरपालिका–३ की ६० वर्षिया महिलाको पनि सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएको छ।

गत वैशाख २० मा उनमा सङ्क्रमणको पुष्टि भएपछि उनलाई उपचारका लागि चरक मेमोरियल अस्पताल पोखरामा राखिएको थियो। उनको उपचार चलिरहेकै अवस्थामा शनिवार बिहान मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–२ की ५८ वर्षीया महिलाको शुक्रबार साँझ गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। उनमा गत वैशाख २३ गते सङ्क्रमणको पुष्टि भएको थियो। पोखरा महानगरपालिका–२७ का ५२ वर्षिय पुरुषको पनि उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ।

उनमा गत वैशाख २३ गते सङ्क्रमणको पुष्टि भएको थियो। पोखरा महानगरपालिका–१९ का ५८ वर्षीय पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ। गत वैशाख २३ गते सङ्क्रमणको पुष्टि भएपछि उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा राखिएको थियो। सोही क्रममा ती पुरुषको आइतबार दिउसो मृत्यु भएको हो।

निर्देशनालयको दोस्रो विज्ञप्तिमा दुई जनाको मृत्यु भएको पुष्टि गरिएको छ। जसमध्ये पहिलो कास्कीको पोखरा महानगरपालिका–१२ की ३५ वर्षीया महिला छिन्। वैशाख १६ गते सङ्क्रमणको पुष्टि भएकोमा उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार राति मृत्यु भएको हो।

उनमा निमोनियाको पनि सङ्क्रमण रहेको पाइएको छ। यस्तै अर्का एक जना पर्वतको कुस्मा नगरपालिका–१३ का ३५ वर्षीय पुरुष छन्। गत वैशाख २१ मा सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

निर्देशनालयले जारी गरेको छैटौँ विज्ञप्तिमा पर्वतको फलेवास नगरपालिका–५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिइएको छ। वैशाख २४ गते सङ्क्रमणको पुष्टि भएकोमा उनलाई उपचारको लागि सङ्क्रामक तथा सरुवा रोग अस्पताल पोखरामा राखिएको थियो। निमोनियाको समेत समस्या रहेका ती पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका १२ जना सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाको संख्या दुई सय ६३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.