आक्रमणकारीले तेलको पाइपलाइन नै बन्द गरिदिए

|

अमेरिकामा ठूलो स्तरको साइबर आक्रमण भएपछि देशभर आपत्‌काल लगाइएको छ। 

त्यहाँको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि सरकारले आपत्‌काल घोषणा गरेको हो।

साइबर आक्रमण भएको कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख लिटर ब्यारेल तेल प्रवाह हुने गरेको थियो। अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत माग यही पाइपलाइनबाट जाने गरेको इन्धनले पूर्ति हुने गर्थ्यो। 

यो पाइपलाइनमा साइबर हमलाकारीहरूले शुक्रबार आक्रमण गरेका हुन्‌। सो हमलापश्चात्‌ पाइपलाइन मर्मतको काम जारी रहेको खुलेको छ। 

आपत्‌काल लागेसँगै अब अमेरिकाका धेरैजसो स्थानमा इन्धन सप्लाइ पाइपलाइनको साटो सडक मार्गबाट हुनेछ। 

पाइपलाइनमा साइबर आक्रमण भएकाले सोमबार इन्धनको मूल्य २ देखि ३ प्रतिशतसम्म बढ्ने जानकारहरूले बताएका छन्‌। तत्कालै पाइपलाइन मर्मत नगरे यसबाट थप क्षति हुने उनीहरूले चेतावनी दिएका छन्‌। 

डार्कसाइड नाम एक साइबर हमलाकारी समूह यो आक्रमणमा संलग्न भएको अमेरिकी सूत्रहरूले अनुमान गरेका छन्‌। उनीहरूले बिहीबार कोलोनियल नेटवर्कको करिब १०० गिगाबाइट (जीबी) तथ्यांक आफ्नो कब्जामा लिएका थिए।

तथ्या‌ंकमा पहुँच कायम गरेपछि ह्याकरहरूले कम्प्युटर र सर्भरहरूमा भएका तथ्यांक लक गरिदिएका थिए र तत्कालै फिरौती मागेका थिए। रकम उपलब्ध नगराए अमेरिकी गोप्य सूचना र तथ्यांक इन्टरनेटमार्फत सार्वजनिक गरिदिने आक्रमणकारीहरूले चेतावनी दिएका छन्‌।​​

सेवा नियमित गर्न प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागसँग सम्पर्क गरिएको पाइपलाइन सञ्‍चालक कम्पनीले जनाएको छ। 

अहिले अधिकांश इन्धन टेक्सासको रिफाइनरीमै थुप्रिएको छ। आपत्‌काल लगाइएकाले न्यूयोर्कमा पनि अब तेल र ग्यासजस्ता इन्धन ट्यांकरबाटै ढुवानी हुनसक्ने बताइएको छ।

कोरोना महामारी फैलिएकाले सो कम्पनीका अधिकांश कर्मचारीले घरबाटै काम गरिरहेका बेला साइबर आक्रमण भएको बेलायतस्थित एक साइबर सुरक्षा कम्पनीले जनाएको छ।

बस्तु तथा सेवा उत्पादक/वितरक उद्योग तथा कम्पनीहरूले साइबर आक्रमणकारीहरूलाई अर्बौं अमेरिकी डलर बुझाइसकेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.