|

बैतडी : कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बैतडीका स्थानीय तहहरूले आफूसँग रहेका सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएका छन्‌।

जिल्लाको पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका हुन्।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै स्थानीय तहका प्रमुख र उपप्रमुखले चढ्ने गाडीसमेत एम्बुलेन्सका रूपमा प्रयोग गरिने घोषणा गरेका हुन्। 

पुर्चौडी नगरपालिकाले दुईवटा जीप भाडामा लिएर कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरेको नगरकी उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन्‌। उनले भनिन्, ‘नगरपालिकामा रहेको अस्थायी कोभिड अस्पतालबाट रेफर गर्नुपरेका बिरामीहरूलाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनका लागि जीपहरूलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने गरेर भाडामा लिएका हौँ।’  

नगरपालिकासँग रहेको एम्बुलेन्स गत वर्ष दुर्घटनामा परेको र मर्मत नहुने भएपछि नगरपालिकाले नयाँ एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाएको जनाएको छ। कोरोना महामारीका बेला नगरवासीलाई समस्या नहोस भनेर तत्कालका लागि दुईओटा जीप भाडामा लिएको उपप्रमख बमको भनाई छ।

डिलाशैनी गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षले चढ्ने तथा कार्यालयले अन्य प्रयोजनमा प्रयोग गर्दै आएका गाडीहरू कोरोनाका नियन्त्रण कार्यका लागी प्रयोग गर्ने जनाएको हो। 

गाउँपालिकामा रहेको एउटा एम्बुलेन्स र अन्य दुई वटा जीपहरू कोरोना रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले बताए। सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप २ वटा जीप तयारी अवस्थामा राखेको र कोरोनाका जटिल खालका बिरामीहरूलाई अस्पताल सम्म पुर्‍याउन तथा कोरोना रोकथामसँग सम्बन्धित जुनसुकै कार्यका लागी पनी गाडीहरू प्रयोग गरिने गाउँपालिकाले जनाएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि आफूसँग रहेका सम्पूर्ण सवारी साधन एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरिसकेको छ। गाउँपालिकाले अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जानकारी दिएको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टीपर, एक बोलेरो जीप र एक कार रहेका छन्।

दोगडाकेदार गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो। महामारीले भयावह रूप लिदैं गएको भन्दै गाउँपालिकाले  सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको हो।

बैतडीमा हाल कोरोनाका ६ सय बढी सक्रिय संक्रमित रहेका छन्। संक्रमणकै कारण ४ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.