|

काठमाडौं : कोरोना संक्रमणका कारण चितवन, दाङ, कैलाली, पर्सा र गण्डकी प्रदेशमा गए रातिदेखि अहिलेसम्म थप २२ जनाको मृत्यु भएको छ।

चितवनका दुई अस्पतालमा गएराति ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। चितवन मेडिकल कलेजमा उपचाररत ५ जनाको र भरतपुर अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको हो। 

भरतपुर महानगरपालिका-३ शहीदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ। उनको आज बिहान ४ बजे मृत्यु भएको हो।

त्यसैगरी, रत्ननगर नगरपालिका-३ का ३९ वर्षीय पुरुष, नवलपरासीको कावासोती नगरपालिका-५ का ६१ वर्षीय पुरुष, कपिलवस्तुको तौलिहवा नगरपालिका-१ का ६० वर्षीय पुरुष, रूपन्देहीको बुटवल उपमहानगरपालिका-१२ का ४० वर्षीय पुरुष र रूपन्देहीकै देवदह नगरपालिका-९ का ४१ वर्षीय पुरुषको चितवनमा मृत्यु भएको हो। 

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच संक्रमितको मृत्यु भएको छ। अस्पतालका व्यवस्थापक द्रोण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका-२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेका दंगीशरण गाउँपालिका-६ का ५३ वर्षीया महिला, तुलसीपुर-७ निवासी ५८ वर्षीया महिला, घोराही-१४ का ५९ वर्षीय पुरुष र बबई गाउँपालिकाका-४ का २७ वर्षीया महिला हुन्‌।

यसैबीच बाँकेमा थप दुई जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार गुलरिया नगरपालिका-७ बर्दिया निवासी ४६ वर्षीया महिला र बाँसगढी नगरपालिका-८ बर्दियाकै ६८ वर्षीय पुरुषको मृत्यु भएको छ।

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका-१ की ५१ वर्षीया महिला, टीकापुर-७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको मृत्यु भएको हो। त्यस्तै, जानकी गाउँपालिका-१ का ५८ वर्षीय र बर्दगोरिया गाउँपालिका-४ का ४५ वर्षीय पुरुषको समेत उपचारका क्रममा मृत्यु भएको छ। 

पर्सामा गए रातिदेखि सोमबार बिहानसम्म ४ जनाको मृत्यु भएको छ। पर्साको वीरगञ्‍ज-१० का वर्षीया ६० महिला, बहुदरमाई नगरपालिकाका ६५ वर्षीय पुरुष , बाराका ६० र ७० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

गण्डकी प्रदेशमा पनि थप २ संक्रमितको मृत्यु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुष र पर्वत जिल्लाको कुश्मा गाउँपालिका-४ का ६७ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.