|

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। भारतबाट फर्किएका अधिकांशमा संक्रमण देखिने थालेको छ। झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकको एन्टिजेन परीक्षण गरिन्छ। एन्टिजेन पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको छ। नेगेटिभ रिपोर्ट आएकालाई होम क्वारेन्टाइन बस्न भनिएको छ।

बैतडीमा अहिले ६०० भन्दा बढी सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ११५ जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन्। बाँकी होम आइसोलेसन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि चारजनाको मृत्यु भइसकेको छ।

संक्रमितहरु संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्ट बताउँछन्। होम आइसोलेसनको नियम पालना नगर्दा घरपरिवार र गाउँघरमा संक्रमण बढेको भट्टको बुझाइ छ।

‘संस्थागत आइसोलेसन बस्न संक्रमितले अटेरी गरिरहेका छन्। होम आइसोलेसनको पालना नै गर्दैनन्,’ भट्टले भने, ‘त्यसैले संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ।’

स्थानीय तहहरुले निर्माण गरेका आइसोलेसनमा बस्ने संक्रमितको संख्या कम छ। आइसोलेसनमा राम्रो व्यवस्था नभएकाले पनि संक्रमितहरु बस्न नमान्ने गरेको प्रमुख भट्टले बताउँछन्। उनले भने, ‘स्थानीय तहहरुले आइसोलेसन मात्रै निर्माण गरे। त्यहाँ बस्ने संक्रमितको व्यवस्थामा ध्यान दिएका छैनन्।’ संक्रमितहरु संस्थागत आइसोलेसनमा नबसे भयावह स्थिति आउने भट्टले चेतावनी दिए।

पाटन नगरपालिकामा ११८ जना सक्रिय संक्रमित छन्। तीमध्ये अधिकांश  होम आइसोलसनमा रहेको नगारपालिकाका स्वास्थ्य शाखा प्रमुखमदनसिंह महराले बताए। ‘संक्रमितहरु स्वास्थ्य अवस्था सामान्य छ भनेर संस्थागत आइसोलेसन बस्न मान्दैनन्,’ उनले भने, ‘होम  आइसोलसन बस्दा संक्रमण फैलँदै गएको छ।’

भारतबाट फर्किएकाहरु सिधै घर जाँदा संक्रमणको जोखिम बढेको दोगडाकेदारका गणेश विष्ट बताउँछन्। 

जिल्ला अस्पतालको आइसोलेसनमा १३ जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये १० जनाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए। 

बैतडीका १८ ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरिएका छन्। १० वटा स्थानीय तहका आइसोलेसन सेन्टर स्थापना गरिएका हुन्। ती आइसोलेसनमा २५६ शय्या रहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.