|

दिनेश बुढा (सुर्खेत) : कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि सुर्खेतका सबै स्थानीय तहले अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण थालेका छन्। दिन-प्रतिदिन संक्रमित बढ्न थालेपछि यहाँका स्थानीयतहरू आफ्ना नागरिकलाई कोरोना महामारीबाट जोगाउन अग्रसर देखिएका हुन्‌। 

कर्णालीका १० जिल्लामध्ये धेरै सक्रिय संक्रमित सुर्खेतमा छन्। कोरोना रोकथाम तथा नियन्त्रणमा सुर्खेतका ९ वटै स्थानीयतहहरू सक्रिय भएका हुन्‌। अघिल्लो वर्ष क्वारेन्टाइन मात्रै निर्माण गरेका स्थानीय तहले यस वर्ष भने  अक्सिजनसहितका आइसोलेसन कक्ष तथा भेन्टिलेटर व्यवस्था गरिरहेका छन्‌।

​सुर्खेतमा रहेका विभिन्न अस्पतालहरूमा पर्याप्त शय्या र अक्सिजन नहुँदा पछिल्लो समय धेरै संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था समेत आएको छ। कोरोना महामारी फैलिएपछि वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको आफ्नै अस्पताल सञ्चालन गरेको छ। हाल २५ शय्या रहेको यो अस्पतालमा अक्सिजनसहितका शय्या रहेका छन्।

२५ शय्याबाट शुरू गरिएको आइसोलेसनमा संक्रमितहरू बढ्दै गए ५० शय्या बनाउने लक्ष्य छ। ‘अहिले २५ शय्याबाट सेवा शुरू गरेका छौँ,’ नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘आवश्यक परेको खण्डमा ५० शय्या नै सञ्चालन गर्छाैं, हाल दुईजना डाक्टर र स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिएको छ।’

अक्सिजनसहितको आइसोलेसनमा संक्रमितको उपचार हुनेछ। संक्रमितलाई नगरपालिकाले नै खानाको व्यवस्था गर्ने भएको छ। तर, यस अस्पतालमा उपचार निम्ति आउने संक्रमितलाई परामर्श दिन प्रदेश अस्पतालका चिकित्सकहरू आउनेछन्।

लेकवेंशी नगरपालिकाले ४ नम्बर वडास्थित दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ अक्सिजनयुक्त १५ शय्याको आइसोलेसन कक्ष तयार गरेको छ। बिरामीको चाप हेरेर थप गर्न पनि सकिने नगर प्रमुख गगनसिंह सुनारले बताए।

त्यस्तै, भेरिगंगा नगरपालिकाले पनि नगरपालिका ११ मा पर्ने राताचौरमा ३० शय्याको आइसोलेसन तयार गर्दैछ। त्यहाँ हाल अक्सिजनयुक्त २० वटा शय्या रहेका उप–प्रमुख रेणु आचार्यले जानकारी दिइन्। कोरोना संक्रमितको हेरचाहको लागि हाल ५ जना मात्र स्वास्थ्यकर्मी रहेको र कोरोना संक्रमितको आधारमा ३० शय्याबाट बढाएर ५० शय्या सम्म पुर्‍याउने नगरपालिकाको लक्ष्य रहेको छ।

गुर्भाकोट नगरपालिकाले मेहलकुनाको सिटी हलमा २५ शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको छ। 

त्यस्तै, सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिकाले पनि अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। अक्सिजनयुक्त ५० श्ययाको आइसोलेसन कक्ष रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिका-५ स्थित बाबियाचौरमा रहेको विद्युत सब स्टेसनको घरलाई अस्थायी कोरोना अस्पतालको रुपमा प्रयोग गर्नेगरी कोरोना अस्पताल सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए। साथै, जटिल प्रकारका बिरामीलाई बाहिर लैजानुपर्ने भए दुईवटा एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको थापाले बताए।

सिम्ता गाउँपालिकाले पनि ५० शय्याको आइसोलेसन स्थापना गरेको छ। गाउँपालिकाको वडा ४ मापर्ने बजेडीचौर स्वास्थ्यचौकीमा अक्सिजनयुक्त ५० शय्याको आइसोलेसन सेन्टरको स्थापना गरिएको हो।

‘भारतबाट नागरिकहरू गाउँ फर्किन थालेपछि महामारी फैलिने डर छ,’ गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘संक्रमितको उपचारमा सहजता ल्याउन अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेका हौँ।’ साथै, अक्सिजन सिलिन्डर अभाव हुने भएका कारण विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिनसमेत खरिद गरिएको छ। जटिल प्रकृतिका संक्रमितलाई सुविधायुक्त अस्पतालसम्म पुर्‍याउन गाउँपालिकाले एम्बुलेन्स समेत व्यवस्था गरेको छ।

सुर्खेतको पश्चिमा पर्ने चौकुने गाउँपालिकाले अक्सिजनसहितको ५० शय्याको आइसोलेसन स्थापना गरेको छ। यद्यपि; हाल १२ वटा शय्याको आइसोलेसन मात्रै सञ्चालनमा ल्याइएको छ।

अक्सिजनका लागि गाउँपालिकाले ६ वटा सिलिन्डर खरिद गरेको छ। बाँकी सिलिन्डर थप गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए।

बराहताल गाउँपालिकाले पनि तत्काल ५ शय्याको आइसोलेसन तयार पारेको अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए। संक्रमितको संख्या बढ्दै गएपछि शय्या थप गर्ने बस्नेतले बताए।

त्यस्तै, चिङ्गाड गाउँपालिकाले पनि चिङ्गाड-५, वलचिङ्गमा अक्सिजनसहित ५ शय्याको कोभिड अस्पताल ल्याएको गाउँपालिका उपाध्यक्ष मनमाया आचार्यले बताइन्। उनका अनुसार हाल ५ शय्याको आइसोलेसनलाई बढाएर ११ शय्या पुर्‍याएको र अवस्था हरेर थप गर्न सकिने उनको भनाइ छ। 

स्वास्थ्यकर्मी अभाव हुँदा समस्या

सुर्खेतका सबै स्थानीय तहले आइसोलेसन सेन्टर सञ्चालन गरे पनि तर त्यहाँ दक्ष जनशक्ति र अक्सिजन पर्याप्त भने छैन।

वीरेन्द्रनगर नगरपालिकाले संचालन गरेको आइसोलेसनमा जनशक्ति अभाव छ। जनशक्ति नभएकै कारण नगरपालिकाले करारमा स्वास्थ्यकर्मीहरू भर्ना लिने र संक्रमितको परामर्शका लागि प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरूसँग समन्वय गरेर सेवा दिने जनाएको छ।

पञ्चपुरी नगरपालिकाले आइसोलेसनमा रहने बिरामीको उपचारका लागि दुईजना चिकित्सक, दुईजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको व्यवस्था गरेको जनाएको छ। संक्रमणदर दिनप्रतिदिन बढ्दै गएकोले हाल भएको अक्सिजन र स्वास्थ्यकर्मीले मात्रै थेग्न नसकिने नगरपालिकाले जनाएको छ।

भेरीगंगा नगरपालिकामा पनि आइसोलेसन शय्या र एम्बुलेन्सको तयारी भए पनि अक्सिजन र स्वास्थ्यकर्मीको कमी भएको नगरपालिकाले जनाएको छ। नगर उपप्रमुख रेणु आचार्यका अनुसार हाललाई कोरोना सक्रमित कम हुँदा अक्सिजन पुगेको र पछि बढेमा स्वास्थ्यकर्मी र अक्सिजनको कमी हुनेसक्ने जोखिम छ। 

गुर्भाकोट नगरपालिकाको आइसोलेसन सेन्टरमा पनि अक्सिजन र स्वास्थ्यकर्मी छैनन्। त्यहाँ मेहलकुना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको समन्वयमा आइसोलेसन सञ्चालन गरिएको छ।

लेकवेंशी नगरपालिकामा थप अक्सिजनको आवश्यकता सँगै स्वास्थ्यकर्मीको कमी रहेको छ। जसमा हाल एक चिकित्सक र चारजना मात्र स्वास्थ्यकर्मी रहेको नगरपालिकाले जनाएको छ। 

त्यस्तै, सिम्ता गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा पनि चिकित्सक छैनन्। आइसोलेसनमा बजेडीचौर स्वास्थ्यचौकीमा कार्यरत अहेव र स्टाफ नर्सहरूले सेवा दिनेछन्। त्यहाँ पनि अक्सिजनको कमी छ। अक्सिजन सिलिन्डर अभावका कारण त्यहाँ विद्युतीय मेसिनबाट अक्सिजन आपूर्ति गर्ने तयारी छ।

चौकुने गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा पनि चिकित्सक र स्वास्थ्यकर्मी अभाव छ। त्यहाँ दुईजना अनमी र स्वास्थ्य शाखाका कर्मचारीहरूले नै सेवा दिनुपर्ने अवस्था छ। त्यहाँ अक्सिजनसमेत अभाव छ।

चिङ्गाड गाउँपालिकमा पनि अक्सिजन र स्वास्थ्यकर्मी अभाव रहेको छ। गाउँपालिका अनुसार हाललाई ११ शय्याको अक्सिजन सहितको आइसोलेसन भएपनि सक्रमित बढ्ने अवस्था आएकोले नपुग्ने उपाध्यक्ष मनमाया आचार्यले बताइन्।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुरले तत्काललाई ५ शय्याको आइसोलेसन कक्ष बनाइएपनि अक्सिजन नभएको बताए। उनले भने, ‘हामी कहाँ अहिले एक सिलिन्डर अक्सिजन पनि छैन र स्वाथ्यकर्मी पनि छैनन्। गत साल डाक्टरका लागि विज्ञापन खोल्यौँ, तर कसैको दरखास्त परेन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.