|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। 

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे।

मतदानमा कूल २३२ सांसद उपस्थित थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए। जसपाकै महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो। एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षका केही सांसदहरु बैठकमा अनुपस्थित रहे। 

विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री संविधानबमोजिम स्वतः पदमुक्त भएका छन् ।

संविधानको धारा एक सयको उपधारा ३ मा 'उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ' भन्ने उल्लेख गरिएको छ । 

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन्। जसमध्ये प्रधानमन्त्रीलाई सरकार जोगाउन १ सय ३६ मत आवश्यक थियो। उनले आफ्नै पार्टीबाट समेत पूरा भोट पाएनन्।

अब उनी नेतृत्वको सरकार स्वतः कामचलाउ भएको छ। अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन्। प्रमुख विपक्षी कांग्रेस र माओवादी केन्द्रले संविधानको धारा ७६ (२) अनुसार नै संयुक्त सरकार गठनको प्रक्रिया थालिनुपर्ने माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.