|

धनगढी : भारतमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढेसँगै त्यहाँ रहेका नेपालीहरू स्वदेश फर्किने क्रम बढ्दो छ। भारतका बिभिन्न सहरहरुमा कोरोनाले भयावह रूप लिएपछि रोजगारीका लागि भारत पसेकाहरु धमाधम स्वदेश फर्कन थालेका हुन्।

कोरोना कहरले रोजगारी खोसिएपछि ज्यान जोगाउनकै लागि भए पनि स्वदेश भित्रिनु परेको उनीहरु बताउँछन्। हाल कैलालीको त्रिनगर नाकाबाट दैनिक एकहजार देखि डेढ हजार सम्म नेपालीहरु स्वदेश फर्किरहेका छन्।

दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिदै गएपछि भारतका बिभिन्न शहरमा लकडाउन जारी गरिएको छ। लकडाउनले रोजगारी गुमेपछि फेरि नेपालीहरु स्वदेश फर्किन बाध्य भएका हुन्।

पछिल्लो एक महिनाको अवधिमा मात्रै २५ हजार बढी नेपाली त्रिनगर नाका हुँदै स्वदेश फर्किएका छन्। भारतबाट आएकाहरुलाई स्थानीय प्रशासनले गाडी पास दिएर सम्बन्धित जिल्लामा पुर्याइरहेका छन्।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको छ। नाकामा होल्डिङ सेन्टर, हेल्थ डेस्कको ब्यबस्थापन गरिएको छ। भारतबाट भित्रिनेहरुमा कोरोनाको जोखिम उच्च हुने अवस्था दिनप्रति दिन बढ्दै गएकोले नाका क्षेत्रमा कडाई गरिएको छ।

कैलाली, कन्चनपुरका गड्डाचौकी, त्रिनगर र टनकपुर (ब्रह्मदेव) लगायत भारतसँग जोडिएका नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। कोरोना जोखिमको दृष्टिले सुदूरपश्चिम उच्च जोखिममा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.