|

सोलुखुम्बु : सगरमाथा आधार शिविरबाट फर्किएका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङका अनुसार सगरमाथा आधार शिविरमा पुगेका उनीहरुमा संकास्पद लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए। सोमबार एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ। सोलुखुम्बु ठेगाना भएका उनीहरु पर्यटकको सहयोगीका रुपमा सगरमाथा क्षेत्र गएको पाइएको छ।

यो सँगै सगरमाथा आधार शिविरबाट फर्किएका २० जनामा संक्रमण पुष्टि भएको छ। जस मध्ये १० जना  गाउँपालिकाको आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ। दुईजना विदेशीलाई काठमाडौं पठाइएको छ भने अन्य आठजना होम आइसोलेसनमा रहेको गाउँपालिकाले जनाएको छ। यद्दपि उनीहरु सगरमाथा आरोहीको नभई अन्य पदयात्रीका सहयोगी भएको बताइएको छ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहणमा भने कोरोनाको कुनैपनि प्रभाव छैन। शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही तथा उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उनको भनाई छ।

‘विगतमा एकअर्का समूहबीच भेटघाट तथा कुराकानी हुन्थ्यो, तर अहिले त्यो छैन’ सगरमाथा आधार शिविर पुगेका श्रेष्ठले टेलिफोन सम्पर्कमा भने, ‘सामान्य रुघाखोकी लाग्ने त वितगमा पनि हुन्थ्यो। त्यसलाई सामान्य मानिन्छ।’ 

सोलुखुम्बुमा कुल संक्रमितको संख्या ६४ पुगेको छ। निषेधाज्ञाको पहिलो दिन सोमबार सदरमुकाम सल्लेरी सुनसान देखिएको छ। जिल्लामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा लगाइएपछि बजार क्षेत्रमा आवतजावत गर्नेहरुको संख्या न्यून भएको हो भने सवारी साधन समेत ठप्प बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.