|

पर्वत : कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा पर्वतका थप दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा कुस्मा नगरपालिका–४ कुस्माका ६७ वर्षीय पुरुष र वडा नं १ पाङका ४७ वर्षीय पुरुष छन्।

कुस्माका पुरुषको सोमबार बिहान सात बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो। गत वैशाख २२ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा  निमोनियाको समेत समस्या थियो।

यस्तै पाङका पुरुषको आइतबार दिउँसो धौलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा निधन भएको हो। उनमा वैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। योसँगै पर्वतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

पर्वतमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमवार जलजला गाउँपालिकाका  ३९ जनामा, पैंयु गाउँपालिकाका ११ जनामा, फलेवास नगरपालिकाकाका दुई जनामा र मोदी गाउँपालिकाका एक  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

जिल्लामा हालसम्म संक्रमितहरुको सङ्ख्या सात सय नौ जना पुगेको छ। तीमध्येका चार सय २८ जनाले सङ्क्रमणलाई जितेका छन् भने सक्रिय केस सङ्ख्या दुई सय ६८ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.