|

पाल्पा : जिल्ला सदरमुकाम तानसेनमा रहेका होटलहरुमा आइसोलेसन तयार गरिएको छ। कोभिड–१९ को दोस्रो लहर फैलिएपछि यहाँका होटलहरुलाई आइसोलेसनमा रुपान्तरण गरिएको हो। 

कोरोना संक्रमित होटलमा निर्माण गरिएको आइसोलेसनमा बस्न पाउने भएका छन्। सामान्य अवस्थाभन्दा अहिले कम खर्चमा खाने र बस्ने व्यवस्थासहितको आइसोलेसन तयार भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले बताए। तत्काल पाँचवटा होटलमा २०० शय्याको आइसोलेसन तयार गरिएको छ। होटल श्रीनगर, होटल इन्द्रेणी, होटल ताज, होटल अन्नपूर्ण गार्डन र मोनिका गेष्ट हाउसमा आइसोलेसन निर्माण गरिएको हो। आवश्यकता अनुसार अन्य होटलमा पनि आइसोलेसन निर्माण गरिने उनले बताए। पाल्पाका १०० भन्दा होटल आइसोलेसन बनाउन मिल्ने बताइएको छ।
 
होटल आइसोलेसनमा बस्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दैनिक खर्च निर्धारण गरेको छ। होटलका आइसोलेसनमा बस्नेले बढीमा दैनिक ३ हजार ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ। एउटा कोठामा दुइजना बसे प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ लाग्छ। यो खर्चमा मासुसहितको दुइ छाक खाना, दुइ पटक अण्डासहितको नास्ता, कोठा, पानी तताउने विद्युतीय कित्ली उपलब्ध हुने श्रेष्ठले बताए। 

जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताअनुसार अक्सिजन र दक्ष डाक्टरको व्यवस्था मिलाइने उनले बताए। अक्सिजन, औषधिलगायत बिरामीको उपचारमा लाग्ने खर्च भने बिरामीले नै बेहोर्नु पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.