|

इलाम : सान्भी इनर्जी प्रालिद्रावा सञ्चालित जोगमाई खोला साना हाइड्रो प्रोजेक्टले इलामका दुई स्थानीय तहलाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। हाइड्रोले सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकालाई ६ थानलाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो। 

सूर्योदयलाई चार थान र माईजोगमाईलाई २ थान ठूलो साइजको सिलिन्डर उपलब्ध गराएको हाइड्रोपावरका प्रमुख पाल्देन काजीले जानकारी दिए। मंगलबार सूर्योदय नगर प्रमुख रणबहादुर राईलाई काजीले सिलिन्डर हस्तान्तरण गरे। हाइड्रोमा खाली रहेको सिलिन्डर भरेर स्थानीय तहलाई कोभिडको महामारी न्यूनीकरणका लागि सहयोग गरिएको काजीले बताए।

हाइड्रोबाट प्राप्त सिलिन्डरलाई सीमा नाका रहेको पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको १० शय्याको आइसोलेनमा प्रयोग गरिने नगर स्वास्थ्य निरिक्षक विपुल अधिकारीले जानकारी दिए। नगरपालिकासँग सानो आकारको आठवटा अक्सिजन सिलिन्डर रहेको अधिकारीले जानकारी दिए। 

उनका अनुसार चारवटा कोभिडका लागि प्रयोग गरिने र बाँकी रहेको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र र पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोग गरिने छ। नगर क्षेत्रका व्यक्ति वा संस्थासँग अक्सिजनको खाली सिलिन्डर भए कोभिडको महामारी नियन्त्रणका लागि फिर्ता गर्ने शर्तमा उपलब्ध गराइदिने वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले आग्रह गरे। नगर क्षेत्रमा आज पशुपतिनगरबाट ६ जना र फिक्कलबाट १२ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.