|

म्याग्दी : म्याग्दीमा कोरोना संक्रमणदर बढ्न थालेपछि समुदायस्तरमै पुगेर संक्रमित खोजी कार्य तीव्र पारिएको छ।  

कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकाको स्वाब संकलन गर्न बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली खटाइएको छ।

उनीहरूले खेतबारीमै पुगेर स्वाब संकलन गरिरहेका छन्।

बेनी नगरपालिकाले वडा नम्बर २ मा ३० जना र वडा नम्बर ४ मा ६७ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको नगरपालिकाका प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए। 

‘कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ, ठाउँ-ठाउँमा कोरोनाका लक्षण भएका बिरामी देखिन थालेका छन्, थप फैलन नदिन र संक्रमितको पहिचान गर्न तालिका नै बनाएर स्वाब संकलन बढाएका हाैं’, अधिकृत सुवेदीले भने।

आवश्यक पूर्वाधार निर्माणको थालनी

कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तहहरूले आवश्यक पूर्वाधार निर्माण पनि थालेका छन्। 

बेनी नगरपालिकाले बेनी अस्पताल परिसरमा २० बेड क्षमताको कोभिड अस्पताल बनाउन निर्माणाधीन अस्पतालमा आवश्यक पूर्वाधार बन्दोबस्त गर्न थालेको छ।त्यसैगरी बेनीको माउण्ट एभरेष्टमा रहेको २० बेड क्षमताको प्रिआइसोलेसन कक्षलाई समेत ५० बेडमा रुपान्तरण गर्ने काम बढाइएको छ। 

नगरपालिकाले परीक्षण र उपचार व्यवस्थापनसँगै वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेवक, युवा क्लब र आमा समूहमार्फत समेत सचेतनाका कार्यक्रम गर्न थालेको मेयर हरिकुमार श्रेष्ठले बताए।

बजार क्षेत्रमा लक्षण देखिएकाहरू पनि परीक्षण गर्न नगएको गुनासो आएपछि संक्रमितको सम्पर्कमा रहेकाको समेत अवस्था बुझ्ने काम बढाइएको उनले बताए। 

१० जनाको मृत्यु, २ सय २८ संक्रिय संक्रमित

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आज (मंगलबार) सम्म जिल्लामा १० कोरोना संक्रमितको मृत्यु भएको छ भने सक्रिय संक्रमित संख्या २२८ पुगेको छ। २ सय ९९ जनाले कोरोना जितेका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

समुदायस्तरमा कोरोना फैलिएपछि बेनी नगरपालिकामा २२ गतेदेखि लकडाउन छ। मंगला, अन्नपूर्ण र मालिकाले सोमबारबाट लकडाउन गरेका छन। धौलागिरिले पनि अत्यावश्यकबाहेक सवै सेवा बन्द गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.