तोकिएका अस्पतालले उपचारको जिम्मा लिन नसकेको आरोप

|

काठमाडाैं : गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै 'कोल्याप्स' भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन्। 

काठमाडाैं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको उनले आरोप लगाए।

अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमितलगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको उनको भनाइ थियो। 

'५ सय बेडको अस्पताल छ रे, तर हामीले चलाउन सकेका छैनौं। किन चलाउन सकिरहेका छैनौं? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौ? कसैले एन्सर गर्न सक्छ यो? खै प्लानिङ?'

'हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ। यसको उदाहरण मेरो अस्पतालको दिन्छु। हामीलाई नेपाल सरकारले तिमी मुटुको बिरामी हेरिदेऊ र मुटुका बिरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेऊ। म अहिले पनि लिन सक्छु। तर अर्को हस्पिटलले कोभिड मात्रै भएका बिरामीलाई जिम्मा लिइदिओस्?' उनले भने, 'तर कसैले पनि जिम्मा लिन सक्क्तैनन् अहिले। किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ। हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौं। स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौं भनेर भन्‍नुपर्थ्यो। बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन। म दुःखका साथ भन्छु। वीर अस्पतालको ५ सय शैया छ तर सञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाजमर्नु अवस्था हो। हामी के हेरेर बसिरहेका छौं? हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन्। ५ सय सैयाको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने। यसको जिम्मा कसले लिने ? यो मिटिङ १ वर्ष अगाडि सुरु गर्नु पर्थ्यो।'

उनले उपचारका लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए। बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उनले ७० वर्षभन्दा माथिकालाई भेन्टिलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताए। 

'५ सय बेडको अस्पताल छ रे, तर हामीले चलाउन सकेका छैनौं। किन चलाउन सकिरहेका छैनौं ? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौ? कसैले एन्सर गर्न सक्छ यो? खै प्लानिङ?'

सबै अस्पतालहरूमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) बिरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको बताए।

उनले थपे, 'हाम्रो अस्पताल कोभिड अस्पताल थिएन। अब हाम्रो अस्पताल कोभिड अस्पताल भइसक्यो। अहिले थप गरेर २१ वटा आइसियु बनाएका छौं। अब हाम्रोमा कुनै पनि आइसियु छैन। इमर्जेन्सीलाई पनि फुल कोभिड बनाएका छौं। हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमर्जेन्सी बनाउनुपरेको छ।'

उनले उदाहरण दिए, 'अहिले मलाई एउटा फोन आइरहेको थियो, एकजना मुटुसम्बन्धी रोग लागेको बिरामीलाई लिइदिनुहोस्। हामीले लिन सक्ने अवस्थामा छैन। ९० वटा सिलिण्डर प्रतिदिन प्रयोग गर्ने गरेकोमा अहिले हामीले १ सय ८५ सिलिण्डर प्रतिदिन प्रयोग गरिरहेका छाैं।'

सरकारले पनि कोभिड १९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसके पनि ढिलै भए पनि महानगरले पहल गरेकोमा भने उनले धन्यवाद दिए। 

वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजन अभावका कारण अपेक्षित ढंगले काम गर्न नसकेको बताइन्। ५ सय शैयाको अस्पताल  हस्तान्तरण नभइसकेकाले भवन सञ्चालन भएन भनेर भन्न नमिल्ने उनले तर्क गरिन्। भवन निर्माण भएर हस्तान्तरण भइसकेको अवस्था नरहे पनि आफूहरूले ३ सय बेडको व्यवस्था गरिसकेको उनले बताइन्। 

अक्सिजन प्लान्टबाट दैनिक १ सय ५० सिलिण्डर उत्पादन हुन्छ। दुई वटा भवनमा गरेर ३ सय सिलिण्डर प्रतिदिन खपत भइरहेको छ। तर सप्लायर्सले १ सय २३ सिलिण्डरभन्दा बढी दिँदैन अनि मैले कसरी गर्न सक्छु?,' उनले उल्टै प्रतिप्रश्न गरिन्। 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोभिड अस्पताललाई बिरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिबद्धता जनाए। 

‘महामारी रोक्न कस्ता सामग्री तथा उपकरण आवश्यक पर्छन्। तिनको बजारमा उपलब्धता कस्तो छ? यसै भन्न सकिने अवस्था छैन। तर, महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन। उपलब्ध साधनको उच्चतम उपयोग गरेर महामारी रोकौँ। हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो। यसका लागि तपाईंहरूलाई आवश्यक थप स्रोतमा हामी सहयोग गर्छौं,’ मेयर शाक्यले भने। 

चर्चा कमाउन नभई अस्पतालमा परेको बिरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने उनले बताए। अन्य थप संयन्त्र बनाएर भन्दा अस्पतालको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उनको भनाइ थियो।  

छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, उनै अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामती कर्मचारी अस्पतालका निर्देशकहरू डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक सहभागी थिए। 

सहभागीहरूले अक्सिजन व्यवस्थापनमा देखिएको कठिनाइ, जनशक्तिलाई प्रोत्साहन र व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्त उपलब्धताका साथै आपतकालीन सेवाका लागि सामान खरिद गर्न खरिदसम्बन्धी प्रक्रिया लामो भएकाले सहजीकरण गर्न आग्रह गरेका थिए।

उनीहरूले भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को संख्या बढाउँदै लगेको भए पनि अहिले ती सबै बिरामीले भरिएको भन्दै बेडको संख्या वृद्धिसँगै जनशक्तिको भार पनि थपिने भएको आर्थिक व्यवस्थापन गर्न सके महामारीविरुद्ध काम गर्न सहज हुने बताए। उनीहरू कोभिड बिरामीको उपचारका लागि थप गरिने कार्यका लागि महानगरले निःशर्त वा ससर्त अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए। 

छलफलमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, ‘कोभिड अस्पताल व्यवस्थापन सिफारिस समिति’का संयोजक दीपक केसीसहित महानगरका अधिकारीहरू सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.