शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म स्वास्थ्यकर्मी काममा नफर्किने

|

जनकपुरधाम : प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा तोडफोड भएको छ।

कोरोना संक्रमित एक बिरामीको मृत्युपछि मृतकका आफन्तलगायत केही व्यक्तिले अस्पतालमा तोडफोड गरेका प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. प्रमोद यादवले बताए। उनका अनुसार त्यो समूहले अस्पतालमा भर्खरै जडान गरिएका तीन वटा भेन्टिलेटर तोडफोड गरेको छ भने केही स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको छ।

तोडफोडबाट अस्पतालको वार्डमा जडान गरिएको तीन भेन्टिलेटरसहित अन्य उपकरणमा समेत गरी करिब डेढ करोड बराबरको क्षति पुगेको मेसु डा. यादवले जनाए।

डा. यादवले थाहखबरसँग कुरा गर्दै भने, ‘आज साँझ ५ः३० बजे तिर महोत्तरीको जलेश्वर अस्पतालबाट रेफर गरिएको एक जना ५५ वर्षीय दुःखीराम महतो नामको सिरियस कोराना संक्रमित बिरामी उपचारका लागि ल्याइएको थियो। उनलाई तत्कालै भेन्टिलेटरको आवश्यक्ता देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा केहीबेरमा उनको मृत्यु भयो। उनको मृत्यु भएको खबर पाएपछि मृतकको आफन्तसँगै रहेका केही व्यक्तिले अचानक अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गर्दै हातपात गर्नुका साथै भेन्टिलेटर समेत तोडफोड गरे।’

मेसु डा. यादवले अस्पतालमा स्वास्थ्यकर्मी उपर भएको दुर्व्यवहार, हातपात र तोडफोड घटनापछि स्वास्थ्यकर्मीहरुले अहिले अस्पताल छाडेर हिँडेको बताए। उनले भने, ‘स्वास्थ्यकर्मीहरुले आफूहरुले यस्तो महामारीका बेला समेत ज्यानको बाजी लगाएर बिरामीलाई सेवा गर्दै आए पनि समेत आफ्नो शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म काम फर्किन सक्दैनाैं।'

तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए।

अस्पतालका मेसु डा. यादवले केहि मेडिकल माफियाहरुले प्रादेशिक अस्पतालले बिरामीलाई सेवा प्रदान नगरून् भन्ने उद्देश्यले अस्पतालमा तोडफोड गराएका हुन सक्ने आशंका व्यक्त गरेका छन्।

मेसु यादवले यस विषयमा भोलि प्रशासनमा छानबिन र दोषीउपर कारबाहीको मागसिहत उजुरी दर्ता गर्ने तयारी गरिएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.