|

दाङ : दाङको  कोरोना  विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको चरम अभाव भएको अस्पतालले जनाएको छ।  १०० शय्याको उक्त अस्पतालमा मंगलवार ६३ जना कोरोना संक्रमित रहेको अस्पतालका व्यवस्थाप दोर्ण वलीले जानकारी दिए। अक्सिजनको अभावले गर्दा संक्रमितलाई भर्ना गर्न कठिनाइ  भएको उनले बताए।

अस्पतालमा अहिले कम्तीमा २०० अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाबाट संघीय सरकारमा नेतृत्व गर्ने  मन्त्री, पूर्वमन्त्री, सांसद, पार्टीका नेता, समाजसेवी बुद्धिजीवी सबैलाई सहज रुपमा अक्सिजन उपलब्ध गराइदिन अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘अहिले अस्पतालमा ६३ जना कोरोना संक्रमित बिरामीहरु उपचाररत हुनु हुन्छ। अक्सिजनको चरम अभावले थप बिरामी भर्ना गर्न सकिएको छैन। अक्सिजन आवश्यक पर्ने बिरामी भर्ना गरी उपचार गर्न अत्याधिक कठिनाइ र विषम परिस्थिति सिर्जना भइरहेको छ।’ 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि अक्सिजनको चरम अभाव भइरहेको बताएका छन्। उनले पनि जिल्लाबाट नेतृत्व गर्ने सांसदहरुलाई यसतर्फ गम्भीर ध्यान दिएर अक्सिजन आपूर्तिमा सहयोग गर्न अपिल गरेका छन्। 

‘दाङमा अक्सिजनको चरम अभावले गर्दा कोरोनाका बिरामीहरु छटपटाइरहेका छन्,’ उनले भने, ‘माननीयहरुलाई यसतर्फ गम्भीर ध्यान दिएर अक्सिजन आपूर्तिमा सहयोग गर्न अपिल छ।’ 

अस्पतालमा मात्र नभइ गाउँपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरहरुमा समेत अक्सिजन सिलिण्डरको अभाव भइरहेको छ। शान्तिनगर गाउँपालिकाले २० शय्याको आइसोलेसन सञ्चालन गरेको भए पनि अक्सिजन  अभावले क्षमताअनुसार संक्रमित राख्न नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले बताए। गाउँपालिकाको आइसोलेसनमा आठजना भर्ना भएका छन्। उनीहरुलाई पनि अक्सिजन सिलिन्डरको अभावले एउटा सिलिन्डर र एउटै अक्सिफ्लोमिटरबाट दुईजनालाई अक्सिजन दिइरहेको पुनले बताए।

अक्सिजन अभावले गर्दा संक्रमितहरुको मृत्यु हुन थालेपछि नागरिकहरुले आक्रोस पोख्दै आइरहेका छन्। तुलसीपुर विजौरीका राकेश बस्नेतले भने, ‘माननीय, सम्माननीय जो जो हुनुुहुन्छ सेभ रहनु, बाँच्नु, उतै सरकार फेरबदलमै लाग्नु, भलो उसैमा छ। हनुमानजीहरुलाई पनि सत्ता र शक्ति शेयर गर्नु । यता जनता अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका छन्। जति जनता बच्छन्, त्यसैमा फेरि लाजननीति गर्नु?’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.