|

पर्वत : नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमितको सेवाका लागि एम्बुलेन्स र आइसोलेसन सञ्चालन गर्ने भएको छ।

जिल्ला कार्यसमितिका प्रवक्ता नवीन सिग्देलले अस्पताल र एम्बुलेन्सको सेवा महँगो पर्दा सामान्य आर्थिक अवस्था भएका बिरामीहरूले उपचार नै नपाउने अवस्था देखिएकाले समस्यामा परेकाहरुलाई सहयोग गर्न कांग्रेसले जेठ १ गतेदेखि एम्बुलेन्स सञ्चालन गर्ने र पार्टी कार्यालयलाई आइसोलेसन वार्डको रूपमा प्रयोग गर्ने निर्णय भएको जानकारी दिए।

‘कोभिडको उपचार महँगो बनेको छ। सामान्य आर्थिक अवस्था भएको मान्छेले एकै रातको हजारौँ रुपैयाँ तिरेर कसरी उपचार पाउने हो? यो अवस्थामा एम्बुलेन्स सञ्चालन गरेर तथा पार्टी कार्यालयलाई आइसोलेसनको रूपमा स्थापना गरेर समस्यामा परेकाहरूलाई थोरै भए पनि मलहम लगाउने निर्णय गरिएको हो,’ उनले भने, ‘जेठ १ गतेदेखि एम्बुलेन्स सञ्चालनमा आउँदै छ। यस्तै पोखरा उपमहानगरपालिका–४ चिप्लेढुंगा र वडा नम्बर ३० खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेसनको रूपमा प्रयोग गर्न प्रशासनलाई अनुमति प्रदान गरेका छौँ।’

पार्टीले गरेको निर्णयबारे मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई जानकारी गराइएको पनि प्रवक्ता सिग्देलले बताए।

यस्तै, कांग्रेसले प्रजिअ गौतममार्फत सरकारलाई ज्ञापन–पत्र समेत बुझाएको छ। संकटका बेला कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा समेत सरकार कमिसनको खेलमा लाग्नु निन्दनीय भएको भन्दै खेद प्रकट गर्दै कमिसनको विषय तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.