|
प्रतीकात्मक तस्बिर

जाजरकोट : सरकारले अनुदान दिने आयोडिनयुक्त नुन ढुवानी नहुँदा डोल्पाका ६ वटा स्थानीय तहका सर्वसाधारण ढिके नुन प्रयोग गर्न बाध्य छन्। आयोडिनयुक्त नुन पाइने डिपोमा नुन नभएपछि महँगोमा ढिके नुन खरिद गरेर प्रयोग गर्न बाध्य भएको स्थानीयको गुनासो छ।

मुड्केचुला गाउँपालिका–७ का रामबहादुर सिंहले डिपोमा नुनका लागि जतिपटक गए पनि सधै छैन भन्ने जवाफ आउने गरेको बताए। यहाँको मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो छन्। त्यस्तै, तिन्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाट नुन वितरण हुने गरेको छ।

साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेड डोल्पाका प्रमुख प्रकाशबहादुर धामीका अनुसार सरकारले सदरमुकाम दुनैमा ३०० क्विन्टल, जुफालमा २०० क्विन्टल, त्रिपुरासुन्दरीको लिकुमा ४५० क्विन्टल, मुड्केचुलाको सर्मी ३०० क्विन्टल र जगदुल्लाको काइगाउँ २५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गरेको छ। 

चीनको बाटो हुँदै उपल्लो डोल्पाको क्याटो, तिन्जेमा नुन ढुवानी हुँदै आएको छ। अघिल्लो वर्ष कोभिडका कारण चीनले नाका नखोल्दा उपल्ल्लो डोल्पामा आयोडिनयुक्त नुनको ढुवानी सकेन। तल्लो र मध्य डोल्पामा नेपालगञ्जबाट नुन ढुवानी हुने गर्दछ। अघिल्लो र चालु आर्थिक वर्षमा सदरमुकाम दुनै र जुफालमा मात्र आयोडिनयुक्त नुन विक्री, वितरण हुँदै आएको छ। चालु आर्थिक वर्षमा सदरमुकामबाहिरका कुनै पनि डिपोमा ठेक्का नलागेकाले नुन अभाव भएको प्रमुख धामीले बताए।

धामीका अनुसार मुड्केचुला गाउँपालिकाका लागि १५० क्विन्टल पठाउने तयारी गरे पनि कोरोनाका कारण बन्द हुँदा ढुवानीमा समस्या परेको बताए। 

दुर्गम तथा पिछडिएका जिल्लामा सरकारले ढुवानी भाडा सहित नुन अनुदानमा दिँदा प्रतिपोका ९ रुपैयाँमा विक्री हुँदै आएको छ। 

बेखबर जनप्रतिनिधि

सदरमुकाम दुनै र जुफालमा नियमित आयोडिनयुक्त नुन विक्री वितरण भए पनि सदरमुकामबाहिर बिक्री वितरण शून्य छ। 

सदरमुकामबाहिरका मुड्केचुलाबाहेक अन्य स्थानीय तहले नुनको आवश्यकताका विषयमा कुनै पनि चासो नदिएको प्रमुख धामीले बताए। माग गरेको भए सदरमुकामको कोटाबाट काटेर भए पनि ढुवानी गर्न सकिने अवस्था रहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.