|

काठमाडौं : गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ।

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। 

प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदैछ। समयसीमा भित्र दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्नेछ।

अहिले विपक्षी दलका नेताले सरकार गठनको दाबी गरिरहेका छन्‌। विपक्षीको तर्फबाट नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ प्रदेश सभा सदस्य छन्। नयाँ सरकार गठनका लागि ३१ प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ।

तर, जनमोर्चाका एक प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले कांग्रेस नेतृत्वलाई सहयोग गर्न नसकिने बताएपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कम हुँदै गएको छ।

तत्कालको अवस्था हेर्दा गुरुङ नै पुनः मुख्यमन्त्री बन्ने देखिएको छ। यद्यपि, विपक्षी दलका नेताले आजसम्म थापालाई सहमतिमा ल्याउने दाबी गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.