|
फाइल फोटो

भक्तपुर : कोरोना संक्रमित भएपछि घरमै आइसोलेसनमा बसेका पत्रकार विश्वराज किराँती ज्वरो कम नभएको र अली गाह्रो महशुस भएपछि मंगलबार अस्पतालमा जाँचको लागि जान चाहन्थे। उनले अस्पतालमा शैय्या व्यवस्थाको लागि आफू सदस्य रहेको काठमाण्डौं शाखाका अध्यक्ष सूर्य सुवेदीलाई आग्रह गरे।

सुवेदीले नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रोशन पुरीलाई समस्या सुनाए। पुरीले भक्तपुर अध्यक्ष जगत प्रजापतिलाई कुनै अस्पतालमा स्वास्थ्य परीक्षणको लागि सहजीकरण गर्न आग्रह गरे।

केन्द्रले किराँतीको उपचारमा सहजीकरण गर्न आग्रह गरेपछि प्रजापतिले थिमिको मध्यपुर अस्पतालमा फोन गरे तर अस्पतालका निर्देशकले अक्सिजन नभएका कारण नयाँ बिरामी लिन नसक्ने जानकारी गराए।

त्यसपछि प्रजापतिले लोकन्थलीस्थित समिट अस्पतालमा फोन गरे। त्यहाँबाट पनि उही जवाफ आयो। किराँतीको अवस्था त्यति जटिल थिएन। उनी घरमै आइसोलेसन बसिरहेको र तत्काल अक्सिजन आवश्यक देखिँदैन भनेपछि बल्ल समित अस्पतालले अक्सिजन चाहिने हो भने हामी रिफर गर्छौं अन्यथा भन्न पाइँदैन भन्ने शर्तमा बिरामी पठाइदिन अनुमति दिए।

भक्तपुर अस्पतालले पनि मंगलबार राति अक्सिजनको मौज्दात सकिएको बिरामी र बिरामीका आफन्तलाई जानकारी गराए। अस्पतालले सकेसम्म बिरामीको उपचार अन्यत्र व्यवस्थापन गर्न आग्रहसमेत गरे। केही दिनअघि मध्यपुर थिमि–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा समयमा अक्सिजन व्यवस्था गर्न नसक्दा दुई संक्रमितको अक्सिजन नभएकै कारण ज्यान गएको थियो।

मध्यपुर अस्पतालले मंगलबार साँझ सूचना नै प्रकाशन गरेर अक्सिजनको अभावका कारण तत्काल नयाँ बिरामी लिन नसक्ने जानकारी गराए। उसले अक्सिजनको आपूर्ति सहज भएको अवस्थामा पुनः नयाँ बिरामी लिने जानकारी पनि दिएको छ। ‘उपचाररत बिरामीको उपचारमा पनि कठिनाइ भएको हुनाले बिरामीका लागि चाहिने अक्सिजनको व्यवस्था नभएसम्मलाई नयाँ बिरामीलाई भर्ना लिन नसक्ने जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले अक्सिजन सहज रुपमा आएपछि अस्पतालले फूल फेजमा काम गर्न सक्ने बताउँदै जतिसक्दो चाँडो अक्सिजन आपूर्तिमा सहज गर्न सरोकारवालालाई आग्रह गरे।

अक्सिजनको अभावले अस्पतालहरुले नयाँ बिरामी लिन बन्द गरेका केही उदाहरण मात्रै हुन यी। कोरोना संक्रमणका गम्भीर बिरामीको चाप बढेसँगै भक्तपुरका अस्पतालहरुमा अक्सिजनको चरम अभाव देखिन थालेको छ। अस्पतालमा भएका बिरामीलाई नै अक्सिजन अपुग हुन थालेपछि कोरोना संक्रमणका नयाँ बिरामी लिन सक्ने अवस्था नभएको अस्पतालहरूको भनाइ रहेको छ।

भक्तपुर अस्पताल जिल्लाको एक मात्र सरकारी अस्पताल हो। यहाँ बिरामीको चाप निकै छ। अस्पतालको क्षमताभन्दा झण्डै तीन गुणा बढी बिरामीको चाप रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुमित्रा गौतमले बताइन्।

भक्तपुर अस्पतालले इमरजेन्सी, जनरल, हाइकेयर र आइसियु गरी ७० शैय्यामा कोभिडका बिरामीको उपचार गरिरहेको छ। स्थान अभाव भएका कारण अस्पताल हाताको चउरमा टेन्टमा समेत राखेर संक्रमितको उपचार गराईरहेको छ। भक्तपुर अस्पतालमा २४ घण्टामा झण्डै २ सय सिलिण्डर अक्सिजन खपट हुने गरेको मेसु डा. गौतमले जानकारी दिइन्। तर कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसि)ले भक्तपुर अस्पताललाई दैनिक ५० सिलिण्डर अक्सिजन दिन सिफारिस गरेको छ।

अस्पतालले यसअघि सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गरिरहेको थियो। अहिले कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसि)ले भक्तपुर अस्पताललाई कान्तिपुर अक्सिजन कम्पनीमा सिफारिस गरेको छ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा भेन्टिलेटर र आइसियुमा ११, हाइकेयर युनिटमा १४ र आकस्मिक कक्षमा १८ गरी ४३ कोभिड–१९ का बिरामीको उपचार भइरहेको छ। अस्पतालमा अक्सिजन अभाव भएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफैँ मङ्गलबार दिनभर दौडधुप गरेर १८ सिलिण्डर अक्सिजनको जोहो गरेका थिए।

सिसिएमसिको सिफारिस अव्यावहारिक भएको र अस्पताललाई आवश्यक पर्ने भन्दा निकै कम मात्रामा अक्सिजनको सिफारिस गर्नाले पनि अभाव भएको अस्पताल सञ्चालकहरुको भनाइ छ।

सरकारको सिसिएमसीले मंगलवार उपत्यकाका अस्पतालहरुलाई अक्सिजनको न्यूनतम कोटा निर्धारण गरेको छ। सिसिएमसी सचिवालयका सहसचिव नरहरी खतिवडाले प्रकाशन गरेको सूचना अनुसार भक्तपुरल जिल्लाका अस्पतालहरु मध्ये डा. इवामुरा अस्पताललाई ३०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ७०, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई १०, मध्यपुर अस्पताललाई ४०, भक्तपुर इन्टरनेसनल अस्पताललाई २० र आरोग्य अस्पताललाई २० सिलिण्डर न्यूनतम कोटा निर्धारण गरेको छ।

त्यसैगरी भक्तपुर अस्पताललाई ५०, भक्तपुर नगरपालिका अस्पताललाई ३०, भक्तपुर क्यान्सर अस्पताल ५०, चाँगुनारायण अस्पताल १०, नागरिक सामुदायिक अस्पताल ३०, सूर्यविनायक आइसोलेसन १०, सिद्धिस्मृति अस्पताल २० र समित अस्पताल ५० सिलिण्डर निर्धारण गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.