चिकित्सक भन्छन्, ‘हाम्रो प्राण रहेसम्म बचाउन लागिपर्नेछौँ’

|

पर्वत : पर्वतको कुस्मा नगरपालिका घर भएका एक जना युवा र अर्को एक ठाउँकी महिला गरी दुई जनालाई मंगलबार पर्वत अस्पतालको प्यासेजमै बेड राखेर उपचार गरिँदै थियो।

उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र औषधि खुवाउन बेला-बेलामा चिकित्सक र नर्सहरू आइसोलेसन वार्ड बाहिर रहेको त्यही प्यासेजमा पुग्थे।

दिनभर प्यासेजमा राखिएकी उनलाई साँझपख भने अन्य बिरामीहरूलाई भर्ना गरेर राख्नका लागि बनाइएको ओपिडीमा सारियो। ओपिडीमा उनीहरू मात्रै होइन, सङ्क्रमणको पुष्टि भएपछि अन्य ठाउँबाट आएका बिरामीहरूलाई पनि भर्ना गर्न थालिएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार कोरोना संक्रमितहरूको उपचार गर्न पर्वत अस्पतालमा शुरूमा १० शय्या क्षमताको आइसोलेसन वार्डको निर्माण गरिएको थियो। तर, जिल्लामा सङ्क्रमणको दर फैलिँदै गएपछि अस्पतालमा संक्रमितहरूको चाप बढ्दै जाँदा आइसोलेसनमा राख्न नसकिएको हो।

‘हामीले आइसोलेसन वार्डमा शुरूमा १० बेडको व्यवस्थापन गरेका थियौँ। त्यहाँ रहेका बेडहरू भरिएका छन्। सङ्क्रमितहरू थपिँदै गएपछि प्यासेजमा राखेर समेत उपचार गरेका छौँ। अस्पताल नागरिकको ज्यू बचाउन प्रतिबद्ध छ,’ उनले भने, ‘बेड अभावमा शुरूमा प्यासेजमा राखेर भए पनि उपचार गरियो। पछि ओपिडीमा सारेर भएपनि उपचार थालिएको छ।’

निर्माण भएका शय्याले बिरामी थेग्न सक्ने अवस्था नभएपछि अब फेरि तत्कालै २० शय्या थप्ने गरी काम गर्न थालिएको, आफूहरू संक्रमितहरूको उपचारमा खटिरहेको र थप व्यवस्थापनको लागि विभिन्न निकायसँग अनुरोध गरिरहेको पहाडीले बताए। उनका अनुसार अस्पतालमा उपलब्ध स्रोत-साधनलाई अधिकतम प्रयोग गरेर सङ्क्रमितको सेवामा चिकित्सक र स्वास्थ्यकर्मीहरू खटिइरहेका छन्‌।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पर्वतमा हालसम्म संक्रमितहरूको कुल सङ्ख्या ७६९ पुगेको छ। जसमध्ये निको भएकाहरूको सङ्ख्या ४२९ र सक्रिय केसको सङ्ख्या ३२७ रहेको छ। जिल्लाका १३ जनाले सङ्क्रमित अवस्थामा ज्यान गुमाएका छन्।

‘हाम्रो प्राण रहेसम्म बचाउन लागिपर्नेछौँ’: चिकित्सक

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू कोही पहिलो चरणमा त कोही अहिलेको दोस्रो लहरमा सङ्क्रमित भएका छन्।

तर, उनीहरूको आत्मविश्वास बलियो छ। सङ्क्रमण हुँदाको पीडा भोगेर आइसकेका उनीहरू आफूहरूको प्राण रहेसम्म संक्रमितहरूको उपचारमा लागिरहने बताउँछन्। 

‘चिकित्सकको काम भनेको सधैँ जोखिम नै हो। शल्यक्रिया होस वा सामान्य रुघाखोकी। अरूको रोग आफूमा सर्ने जोखिम उच्च हुन्छ। तर, यही नै काम गर्छु भनेर आएका कारण जोखिमसँग डर लागेको छैन, लाग्दैन पनि। बिरामीको सेवाका लागि आएको त्यो गर्दा सन्तुष्टि मिल्छ,’ चिकित्सक मानव तिवारीले भने, ‘हामी हाम्रो प्राण रहेसम्म बिरामीको प्राण धान्नका लागि लागि परिरहनेछौँ।’ तर, यसका लागि सरकारले उचित प्रोत्साहन चिकित्सक वा फ्रन्टलाइनरहरूलाई दिनुपर्ने उनको गुनासो छ। 

जोखिम मोलेर उपचारमा खटिएका चिकित्सक सङ्क्रमित भएमा उनीहरूले नै उपचारको लागि शय्या नपाउने अवस्था रहनुले स्वास्थ्यकर्मीको मनोबल गिर्नसक्ने उनको चिन्ता छ। प्रोत्साहनलाई पैसासँग मात्रै दाँज्न नमिल्ने बताउँदै तिवारीले सरकारले उपचार र सुरक्षाको प्रत्याभूति, बीमा लगायतका कुरामा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ।

अर्का चिकित्सक सुरज नेपाली पनि बिरामीको उपचार नै आफ्नो धर्म भएको बताउँदै अरूलाई बचाउने विद्या लिनका लागि पढेर यहाँसम्मको दुःख गरेको बताउँछन्। सीमित स्रोत र साधन भएको ठाउँमा बसेर सङ्क्रमितको उपचारमा लाग्नु आफैँमा चुनौतीपूर्ण काम भएपनि आफ्नो सेवाले बिरामीको मुहारमा आउने उज्यालोले आफूलाई भगवान् भेटेको जस्तो हुने उनको भनाई छ।

‘अरूलाई बचाउँछु भनेर नै त्यति मिहिनेत गरेर पढेर यहाँसम्म आएको हो। बिरामीको रोग सर्छ भनेर डराउने हो भने त चिकित्सक नै भइएन। हाम्रो त धर्म नै यही हो नि!’ उनले भने, ‘हाम्रा कारणले बिरामीको मुहार उज्यालो हुँदा त्यही बेडमा भगवान् आएर बसेको र खुसी भएको अनुभूति हुन्छ।’

अस्पतालमा उपचारका लागि आएका करिब ७० प्रतिशत बिरामीहरू सङ्क्रमित रहेको बताउँदै नेपालीले कोरोना भाइरससँग २४ घण्टा खेलिरहेको तर, बिरामीको उपचारको लागि आफू नथाकेको धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.