जटिल बिरामीलाई नेपालगञ्जमा बेड मिलाइदिन्छन्

|

बर्दिया : अहिले देश विषम परिस्थितिमा गुज्रिरहेको छ। यस अवस्थामा हरेक नागरिकले महामारी नियन्त्रणका लागि आफ्नो स्थानबाट सहयोग गर्नु आवश्यक हुन्छ। तर, महामारी नियन्त्रणमा अहिले स्वास्थ्यकर्मी भागवान् सावित भएका छन्। संक्रमितको उपचार, बिरामीलाई हौसला प्रदान गर्नु, ज्यान गुमाएकाहरूको शव व्यवस्थापनलगायत काममा स्वास्थ्यकर्मी अग्रपंक्तिमा रहेर काम गरिरहेका छन्।

त्यसमध्येका एक हुन्, बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ। देशमा पहिलो चरणको कोरोना महामारी फैलँदा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनलाई ‘कोभिड हिरो’को उपाधि प्रदान गरियो। अहिले उनी बर्दियावासीका लागि वास्तविक कोभिड हिरो सावित भएका छन्।

कोरोना महामारी फैलिएको समयमा सुरुका दिनमा VTM को अभावको बेला १० वटा VTM लिन आफैँ दाङ र बुटवल गई ल्याएर शंकास्पद बिरामीको Swab collection गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउने र सोको रिपोर्टसमेत ल्याउने व्यवस्था श्रेष्ठले मिलाए। 

चैत ११ को लकडाउनपश्चात यस क्षेत्रबाट प्लेनमा VTM पठाउने समन्वयसमेत श्रेष्ठलाई तोकिएकोले सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र दाङ जिल्लाका अस्पतालबाट संकलन गरिएका Swab Plane मार्फत काठमाडौं पठाउने व्यवस्थापन उनले २४ सै घण्टा खटिएर काम गरे।

पहिलो चरणमा उनले बाहिर जिल्लाबाट सिकिस्त भई नेपालगञ्‍जका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललगायतमा उपचारका लागि आउने बिरामीको बेड व्यवस्थापनका लागि काम गरे। दैनिक आइसोलेसन अस्पतालमा गई वा खाली बेडको तथ्यांक तयार गरी बाहिरी जिल्लाबाट आउने बिरामीलाई भर्नाका लागि २४ सै घण्टा खटिएर अस्पतालमा बिरामी भर्नाको समस्या आउन दिएनन्।

यस्तै, आर्थिक अभावका कारण पिसिआर जाँच गर्न नसक्ने, आइसोलेसनमा बस्न नसक्ने, एम्बुलेन्सबाट आउन नसक्ने बिरामीका सम्बन्धमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) मा योजना तयार गरी पिसिआर जाँच, एम्बुलेन्समा ल्याउने र आइसोलेसनमा निको नहुँदासम्म बसाउने व्यवस्थापन गरे।

त्यतिबेला बाँकेवासीका लागि श्रेष्ठले पुर्‍याएको योगदान बाँकेका स्थानीयले अझै सम्झिरहेका छन्।

अहोरात्र सेवामा

बाँकेको कोरोना फोकल पर्सनका रूपमा काम गरिसकेका श्रेष्ठ अहिले बर्दियामा कार्यरत छन्। दोस्रो चरणको महामारी नियन्त्रणमा आफ्नो ज्यानको कत्ति पनि प्रवाह नगरी उनी अहोरात्र लागिरहेका छन्। स्थानीयको स्वास्थ्यलाई लिएर श्रेष्ठले निर्वाह गरेको जिम्मेवारीको बर्दियावासीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। कोभिड हिरो श्रेष्ठ बर्दियामा रहेसम्म उपचार नपाएर ज्यान गुमाउनु नपर्नेमा बर्दियाबासी विश्वस्त छन्।

निरन्तर रुपमा कोभिड महामारी व्यवस्थापनमा सक्रिय भएर भूमिका निर्वाह गरेका उनीसहित उत्कृष्ट तीन कर्मचारीलाई एकाउन्टबिलिटी ल्याब काठमाडौंले हिरो घोषित गरेको थियो। कोभिड–१९ को समयमा देशैभरिबाट कोभिड रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य कर्मचारीमध्ये श्रेष्ठ कोभिड हिरो घोषित भएका थिए।

अहिले उनले बर्दियाका कोरोना संक्रमितको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। प्रदेश नम्बर ५ को पुछारमा रहेको बर्दिया जिल्ला विविध सुविधाबाट पछाडि छ। बर्दियाका हरेक बिरामी उपचारका लागि बाँकेको भर पर्नुपर्ने अवस्था छ।

बर्दियाका बिरामीलाई सहज उपचार

अहिले बाँकेका भेरी अस्पताल, शिक्षण अस्पताल लगायतका स्थानका कोभिडका बिरामीले अस्पताल भरिभराउ छन्। बेड अभावमा बिरामीलाई सहजरूपमा स्वास्थ्य सेवा प्रदान गर्न सक्ने अवस्था छैन। यस्तो अवस्थामा पनि बर्दियाका बिरामीले सहज रूपमा उपचार पाइरहेका छन्।

कोरोना फोकल पर्सन श्रेष्ठले अहिले बर्दियाका बिरामीलाई अस्पतालमा बेड मिलाउन सहजीकरण गरिरहेका छन्। उनी बाँकेसँग सहकार्य गरेर जटिल प्रकृतिका बिरामीलाई उपचारमा सहयोग गर्दै आएका छन्। बाँकेले बेड खाली छैन भनेको अवस्थामा बर्दियाका जटिल प्रकृतिका बिरामीको ज्यान जाने पनि अवस्था छ, बर्दियासँग त्यसको कुनै विकल्प छैन। तर, फोकल पर्सन श्रेष्ठले अहिले त्यसको व्यवस्था गरिरहेका छन्।

उनी बाँकेमा यसअघि कोरोना फोकल पर्सनको रुपमा काम गरेको भएर पनि त्यसमा केही सहज भएको छ। बर्दियाका विभिन्न सरोकारवाला व्यक्तिसँग सहकार्य गरेर जटिल प्रकृतिका बिरामीको हकमा नेपालगञ्जमा बेड खाली भए/नभएको निश्चित गरेपछि बिरामीलाई अस्पताल लिइन्छ।

श्रेष्ठको पहलमा नेपालगञ्ज रेफर गरिएका बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपरेको छैन। कारोना महामारी नियन्त्रणमा लागिरहँदा दैनिक ३ घण्टा मात्रै सुत्ने गरेको उनको अनुभव छ। उनी भन्छन्, ‘महामारी नियन्त्रणमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु।‘

उनलाई बिरामीको उपचार, संक्रमितको विवरण तयार पार्ने चटारो त छँदै छ अर्कोतर्फ बिरामीलाई स्वास्थ्य परामर्श दिने र सञ्चारमाध्यामलाई सही तथ्यांक प्रदान गर्ने जिम्मेवारी पनि उनको भएकाले उनलाई अहिले एकछिन पनि फुर्सद छैन।

उनको बर्दिया सरुवा भएपछि अहिले बाँकेमा तेज वलीलाई फोकल पर्सन तोकिएको छ। बर्दियाका नरेशबाबु श्रेष्ठ र बाँकेका तेज वलीले अहिले बाँके बर्दियासहित अन्य जिल्लाबाट बाँकेमा उपचारका लागि पुग्ने बिरामीको उपचारमा सहजीकरण गरिरहेका छन्।

शव व्यवस्थापनमा भ्याइनभ्याई

यस्तै, कोरोना संक्रमितको ज्यान गएपछि उनीहरूको शव व्यवस्थापनमा पनि भ्याइनभ्याइ भएको उनले बताए।

केही दिन अघि निेजल्ला प्रसासन कार्यालय बर्दियाले कोभिडका बिरामीको थप उपचारका लागि अस्पताल भर्ना र समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी कोभिड फोकल पर्सन श्रेष्ठलाई तोक्यो। कोभिडका जटिल प्रकृतिका बिरामीहरू दिनप्रतिदिन बढिरहेको अवस्थामा बिरामीलाई कोहलपुर, नेपालगञ्जका भर्ना तथा उपचारका लागि समन्वयको जिम्मेवारी आफूलाई तोकेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिए।

उनले भने, ‘कठिन परिस्थितिमा जो जहाँ भए पनि हरेक नागरिकले सहयोग गर्नु सबैको कर्तव्य हो। आफूले सक्ने सहयोग गर्न बर्दियामा मात्रै नभएर बाँके र अन्य जिल्लाबाट आउने बिरामीलाई सहयोग गर्न म सधैँ प्रतिबद्ध छु।‘ महामारी नियन्त्रणमा अहोरात्र लागिरहने उनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.