उद्योगी भन्छन- कोरोनाको चेनब्रेक गर्न लकडाउनबाहेक अरू उपाय छैन

|

पर्सा : दोस्रो लहरको कोरोना जंगिएर आएपछि आर्थिक नगरी वीरगञ्‍जमा अहिले अर्थका कुरा सुन्न छोडिएको छ। नयाँ वर्षसँगै कोरोनाको दोस्रो लहर आएपछि देशको आर्थिक नगरी वीरगञ्‍जमा अर्थका कुरा सुन्न छोडिएको हो।

अहिले जता फर्के पनि स्वास्थ्य सुरक्षाका कुरा मात्र सुन्ने गरिएको छ। यहाँका उद्योगी व्यवसायी पनि अहिले सुरक्षाको कुरामा तल्लिन छन्। आर्थिक नगरी वीरगञ्‍जमा अहिले अर्थका कुरा गर्ने मानिसहरु भेटिन छाडेको छ। गएको वैशाख १६ गतेदेखि बिहान ९ बजेसम्म सर्वसाधारणले खाद्यान्न जोहो गर्ने र त्यसपछि निषेधाज्ञामा घर–घरमा नै बस्ने जिल्ला प्रशासन कार्यालयको आदेश छ।

यो समयमा मुख्य सडक वीरगञ्‍ज बजारका व्यापारिक प्रतिष्ठान ठप्पै हुने गरेका छन्। भित्री सडकका भने सुरक्षाकर्मीको आँखा छली केही खुलेका भेटिन्छन्। उद्योग, बैंक तथा वित्तिय संस्थाहरु भने सकेको सुरक्षा अपनाई खुलेका छन्।

कोरोनाको चेन ब्रेक गर्नु प्रमुख कुरा 

बढी तम्सिएर अगाडि आई आर्थिक गतिविधि गर्ने समय छैन। आफू बच्ने र अरूलाई बचाउने अहिलेको प्रमुख विषय भएको वीरगञ्‍ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए। ‘अहिलेको समय उद्योग प्रतिष्ठान बचाइ राख्ने हो।

निषेधाज्ञा र लकडाउन पालना गर्नै पर्छ।  कोरोनाको उच्च संक्रमण शृंखला तोड्न (चेनब्रेक) गर्न निषेधाज्ञाबाहेक अर्को उपाय छैन।‘ त्यसैले २०⁄२५ प्रतिशत मात्रै उद्योग व्यवसाय बचाएर बस्नु पर्ने बाध्यता छ। ठिक भएपछि फूलफेजमा उद्योग व्यवसाय चलाउन पर्दा चलाउन सकियोस् मात्र अहिले ध्यान दिनुपर्ने अवस्था छ’ उनले भने।

अहिले नै उत्पादन घट्न थाल्यो : उद्योगी

खाद्यान्न र केही औषधि उत्पादक उद्योगहरूबाहेक अन्य सामग्री उत्पादक कम्पनीहरुको सामान गोदाममा नै थन्किन थाल्यो। उत्पादन पनि घटिरहेको छ। कच्चा पदार्थ पनि सकिने र कर्मचारी पनि कटौती गरेर भए पनि उद्योग बचाउनु पर्ने अवस्था आउन सक्ने संकेत देखिएको वीरगञ्‍जका उद्योगी व्यवसायीको तर्क छ। 

उच्च कोरोनाको संक्रमन चेनब्रेक गर्न केन्द्र, प्रदेश र स्थानीय सिसिएमसी तथा सरकार र प्रशासनलाई हम्मे–हम्मे छ। उद्योगी व्यवसायी पनि फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई केही सहयोग गरी स्वास्थ्य समाज निर्माणका लागि लागि परेका छौं संधा वरिष्ठ उपाध्यक्ष अनिल पटवारीले बताए।

नियम कानुनलाई पालना गर्ने गराउने र उद्योग व्यवसाय चलाउने दुवै कुरा सँगसँगै गर्न दोसो कोरोना लहरमा उद्योगी व्यवसायीलाई निल्नु न ओकल्नु भएको छ उनले तर्क गरे।

आयात नियमित 

नेपालको प्रमुख भन्सार नाका रहेको आर्थिक नगरी वीरगञ्‍जमा आयात निर्यातको काम भने रोकिएको छैन। मुलुकको वीरगञ्‍ज स्थित पहिलो नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसीपी ) बाट निषेधाज्ञा लागू भएयता पनि दैनिक ४०० देखि ६०० सम्म मालवाहक सवारी स्थलमार्ग भएर नेपाल भित्रिरहेका छन्। भारत तथा तेस्रो मुलुकबाट नेपाली आयातकर्ताले मगाएका सामान लिएर यसरी आउने सवारीमा खासै गिरावट नआएको आइसिपीको व्यवस्थापन हेर्दै आएको इन्टरमोडल यातायात विकास समिति वीरगञ्‍जका प्रमुख कमल ज्ञवालीले बताए।

‘कोरोनाको उच्च जोखिम नहुँदा वीरगञ्‍जको आइसिपीबाट दैनिक ५ सयदेखि ७ सयसम्म मालवाहक सवारी स्थलमार्ग भएर नेपाल भित्रिन्थे। अहिले थोरै मात्र डाउन भएको छ’ उनले भने।

चलिरहेका धेरै उद्योग र व्यवसाय त्यहाँका सिनियर कर्मचारीका भरमा चलेको उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीले बताए। ५०⁄५५ कटेका र कुनै रोग पनि भएका उद्योगी महिना दिनभन्दा बढी प्रतिष्ठानमा देखिन छोडेको उनीहरूको भनाइ छ। श्रमिकहरु भने जानै पर्ने बाध्यता हुन्छ। नत्र जागिर जाने डर रहन्छ समग्र उद्योग ट्रेड युनियन नेपालको केन्द्रीय सदस्य गीता भण्डारीले भनिन्। 

यो मौकामा अवैध तरिकाले सीमा वारापार गर्नेहरु पनि सुरक्षाकर्मीको आँखा छली सक्रिय नै रहेको खुलेको छ। पर्सा प्रहरीले निषेधाज्ञाका समयमा गएको २० वैशाखमा चोरीको भारतीय नम्बर प्लेटको बीआर ०५ पी ९२६९ को स्कार्पियो गाडीसहित फरकफरक ठाउँबाट ६ लाख ९४ हजार ३ सय ५० रुपैयाको अवैध सामान बरामद गर्नु त्यसैको उदाहरण हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.