|

पर्वत : गण्डकी प्रदेशको नयाँ सरकार गठनका लागि उपलब्ध समयसीमा सकिँदै गर्दा राष्ट्रिय जनमोर्चा (राजमो) का तर्फबाट प्रदेश सभा सदस्य बनेका कृष्ण थापाले पोखरा छाडेका छन्‌। यतिखेर उनको एक मत नै नयाँ सरकार गठन निम्ति निर्णायक बनेको छ।

मुख्यमन्त्रीका रूपमा पृथ्वी सुब्बा गुरुङलाई नै दोहोर्‍याउने वा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अवसर दिने भन्ने कुरा जनमोर्चाको हातमा छ।

प्रदेशको मुख्यमन्त्री चयन गर्ने जस्तो महत्त्वपूर्ण र निर्णायक अवस्थामा रहेको जनमोर्चाको आन्तरिक किचलोका कारण मुख्यमन्त्री चयनको काम भन्नै नसकिने अवस्था निम्तिएको छ।

मुख्यमन्त्रीको चयनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा बुधवार अपराह्न चार बजे सकिँदैछ। प्रदेश प्रमुख सीता पौडेलले तीन दिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। समय सीमा भित्र दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्नेछ। अन्यथा ठुलो दलको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन्।

यो अवस्थामा जनमोर्चा त निर्णायक भई नै हाल्यो त्यसमा पनि सांसद कृष्ण थापा सबैभन्दा महत्त्वपूर्ण छन्। किनकि जनमोर्चाको केन्द्रीय समितिले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नुपर्ने निर्देशन दिएको छ भने गण्डकी प्रदेशकी सचेतक पियारी थापाले पनि ह्वीप नै जारी गरेकी छिन्। पियारी सहित खिमविक्रम शाहीले मात्र हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव ल्याएकाहरूबाट नयाँ सरकार बन्ने अवस्था छैन।

मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय आफ्नो हातमा लिएका जनमोर्चाको प्रदेश सभा सदस्य कृष्ण थापा भने बुधवार बिहान आफ्नो गाउँ बागलुङतर्फ प्रस्थान गरिसकेका छन्।

थाहाखबरसँग कुराकानी क्रममा थापाले आफू पोखरामा नरहेको, गाडी चढेर गाउँ जाँदै गरेको बताएका छन्। ‘कांग्रेसको पक्षमा हस्ताक्षर गर्न मलाई आत्मग्लानी भयो। हस्ताक्षर गर्दिनँ। पार्टीले कारबाही गरेछ भने त्यो सहनुको विकल्प पनि छैन। तर मबाट कांग्रेसका लागि हस्ताक्षर हुँदैन,’ उनले भने, ‘म अहिले पोखरामा पनि छैन। म पोखराबाट बाहिरिइसकेको छु।’

तपाईं कता जान लाग्नुभएको? प्रश्नमा सांसद थापाले आफू गृहजिल्ला बागलुङ जाँदै गरेको जवाफ दिए।

हस्ताक्षर गर्नैपर्ने बाध्यात्मक परिस्थिति आइहाले त्यसलाई छल्नका लागि सजिलो हुने उपायका रूपमा उनले गृह जिल्ला प्रस्थानलाई रोजेका हुनसक्ने अनुमान गरिएको छ। उनी बागलुङ सदरमुकाममा बसेपनि त्यहाँबाट पोखराको दूरी गाडीमार्फत कम्तीमा पनि साढे दुई घण्टा लाग्छ। सरकार निर्माणको लागि प्रदेश प्रमुखले दिएको समय चार बजे रहेको परिवेशमा थापा भने टाढाको दूरीमा पुग्न लागेको उनको भनाइले पुष्टि हुन्छ।

तर, जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले भने हस्ताक्षर गर्ने कुरामा कसैको विमति नरहेको र दिउसो दुई बजे प्रदेश प्रमुख कार्यालयमा पुगेर हस्ताक्षर सहितका कागजातहरू बुझाउने बताए। भट्टले सांसद थापा जहिले पनि सहमतिमै रहेको दाबी गरे।

‘कृष्णजी पनि सहमतै हुनुहुन्छ। कहिले पो असहमति जनाउनुभयो र? बागलुङको समस्याको बारेमा उहाँले कुनै पनि कुरा हामीहरूसँग गर्नुभएको छैन,’ उनले भने, ‘दिउँसो दुई बजे दाबी लिएर हामी प्रदेश प्रमुखकहाँ जाँदैछौँ। सबै कागजातहरू तयार पार्दैछौँ। चार बजेसम्मको समय छ। प्रदेश प्रमुखको कार्यालयबाट आवश्यक कागजातहरूको बारेमा जानकारी दिनुभएको छ। अहिले हामी तिनै कागजपत्रको तयारीमा छौँ।’

नयाँ सरकारमा जान कुनै पनि पदमा दाबी नगरेको बताउँदै उनले जनमोर्चाको चाहना भनेको प्रधानमन्त्री ओलीको प्रतिगमनलाई परास्त गर्नु नै रहेको बताए। ‘सरकारमा जाने कुरा हाम्रो प्राथमिकता होइन। अहिले हाम्रो चाहना भनेको ओलीको प्रतिगमनलाई परास्त गर्ने हो। सरकारले जसले बनाए पनि हाम्रो लागि फरक पर्ने कुरा छैन,’ भट्टले भने, ‘संवैधानिक व्यवस्था अनुसार अविश्वासको प्रस्ताव लैजाने बेलामा नै विश्वासको उम्मेदवारको नाम दिनुपरेको हो। त्यो बेलामा कांग्रेस र माओवादी मिलेर जसलाई बनाए नि बनाउनुहोस् तर प्रतिगमन परास्त हुनुपर्छ भनेका हौँ। सरकारमा जान र पद सम्हाल्न हामीलाई रहर छैन भनेका थियौँ।’

६० जना प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा एमालेका २७ जना, कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, जनमोर्चाका तीन जना तथा जसपा र स्वतन्त्रबाट एक/एक जना सांसद छन्। नयाँ सरकार गठनका लागि ३१ जना सांसद चाहिन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.