|

मकवानपुर : आगामी जेठ ६ गते हुन लागिरहेको राष्ट्रियसभा उप निर्वाचनमा बागमती प्रदेशबाट सदस्य पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज बुधबार चुनाव चिह्न प्रदान गरिएको छ। 

बागमती प्रदेश निर्वाचन आयोग कार्यालय हेटौंडाले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। 

निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय सभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापालाई सूर्य चिह्न, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चिह्न र काङ्ग्रेस, माओवादी केन्द्र र उपेन्द्र बाबुराम पक्षको जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिह्न प्रदान गरिएको हो। 

राष्ट्रियसभा सदस्यको बागमती प्रदेश तर्फ रिक्त पदका लागि यही वैशाख २४ गते उम्मेदवारी दर्ता गरेकालाई आज चुनाव चिह्न दिइएको हो। 

माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी बनेका गृहमन्त्री रामबहादुर थापा बादलले साविक नेकपाको विभाजनसँगै एमाले पार्टीमा प्रवेश गरेपछि माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त सदस्य पदमा चुनाव हुन लागेको हो। 

चुनावमा प्रदेशसभाका सदस्य र पालिकाका प्रमुख तथा उप प्रमुखले मतदान गर्नेछन्।

बागमती प्रदेशसभाका १०९ जना सांसद, पालिकाका २३८ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३४७ जनाले भोट हाल्नेछन्। प्रदेशसभा सदस्यको मतभार ४८ र पालिकाका जनप्रतिनिधिको मतभार १८ गणना हुने व्यवस्था छ। 

चुनाव आगामी जेठ ६ गते भुटनदेवी उच्च माविको भवनमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.