|

पर्वत : ​कास्की प्रशासनले जिल्लामा जारी निषेधाज्ञा एक साता थप गरेको छ। 

यसअघि भन्दा पनि कडाइ गर्नेगरी गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीमा निषेधाज्ञा अवधि बढाइएको हो। 

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार  बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) बैठकले कास्कीमा संक्रमण तीव्र फैलिएकाले स्थितिलाई गम्भीरतापूर्वक लिँदै जेठ एक गतेदेखि सात गतेसम्म लागु हुनेगरी लकडाउन थप गर्ने निर्णय भएको हो।

‘कास्कीमा सङ्क्रमणदर निकै फैलिँदै गइरहेको अवस्थालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ, सोही अनुसार डिसिसीएमसीको बैठकबाट एक हप्ता लकडाउन थप गर्ने निर्णय गरिएको हो,’ प्रजिअ गौतमले भने, ‘जेठ एक बिहान पाँच बजेदेखि लागू हुने लकडाउन जेठ सात गते राती १२ बजेसम्म कायम रहनेछ। यो आदेश कास्की जिल्लाभरका लागि हो, पोखराको लागि मात्रै होइन।’

प्रजिअ गौतमद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने, मर्निङ र इभिनिङ वाक गर्न नपाइने, कुनै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न तथा भिडभाड, जुलुस, जात्रा, महोत्सव गर्न नपाइने भनिएको छ। यस्तै एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारी साधन बढीमा दुई जना राखेर चल्न पाइने, दमकल, शव वाहन, खाद्य सामग्री, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारीहरू, चिकित्सक तथा स्वास्थ्यकर्मी सवार सवारी, औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी, सुरक्षा निकाय तथा सञ्चार र अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका सवारीहरू चल्न नपाउने भएका छन्। विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरू सञ्चालन गर्दा बढीमा १० जना मात्र सहभागी हुन पाइने र सवारी प्रयोग गर्नुपरेमा बढीमा पाँच जना मात्र बस्न पाइने भनिएको छ।

लकडाउनको अवधिमा औषधि पसल एवं स्वास्थ्य सामग्रीका पसलहरू २४ सै घण्टा खुल्न पाउने तर दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दूध, दही, माछा, मासु, बिक्री वितरण गर्ने पसलहरू बिहान पाँच बजेदेखि नौ बजेसम्म मात्र सञ्चालन गर्ने र ताजा दूध संकलन गर्न तथा चिस्यान केन्द्रमा लैजान साँझ पाँच बजेबाट सात बजेसम्मको समय तोकिएको छ। सरकारी प्राथमिकता प्राप्त आयोजनाका लागि मात्र निर्माण सामग्री बोक्ने सवारी साधनहरू बेलुका आठ बजेदेखि बिहान चार बजेसम्म चल्न पाउने भएका छन्।

कास्की प्रशासनले सरकारी कर्मचारीहरूको आवतजावतको लागि समेत नियम कडा बनाएको छ। सरकारी कर्मचारी हुँ भन्दैमा चाहेका बेलामा हिँड्न नपाइने भएको छ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधि तथा औषधिजन्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने ठाउँमा कार्यरत कर्मचारीहरू बिहान ९ बजेदेखि १० बजेसम्म र बेलुका पाँच बजेबाट छ बजेसम्म परिचय पत्र र पोसाकमा रहेर मात्र हिँड्न पाउने भनिएको छ।

बैंक तथा वित्तीय संस्थाहरू अत्यावश्यक सेवाको लागि एक चौथाइ कर्मचारीको उपस्थितिमा एक चौथाइ शाखाबाट निक्षेपमा एक लाख भन्दा बढी, चेक भुक्तानी, क्लियरिङ, विप्रेषण सेवा बिहान ११ देखि दिउसो २ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.