|

काठमाडौं :  नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालको कारबाही फुकुवा गरेको हो। एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो।

कारबाही फुकुवा गर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बैठकले अनुमोदन गरेको स्थायी कमिटी सदस्य  सुवास नेम्बाङले जानकारी दिए। 

यस्तै बैठकले एमालेले पार्टीको विवाद समाधान र राष्ट्रिय राजनीतिका विषयमा निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

‘पार्टीको आन्तरिक निर्णय र राष्ट्रिय परिस्थिति समेतलाई ध्यानमा राखेर आवश्यक पर्ने सबै काम कारबाहीको निर्णय गर्नका लागि अध्यक्षलाई अधिकार दिने निर्णय गरियो,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला नयाँ सरकार गठनको समयसीमासमेत घर्किँदैछ। यस्तोमा पार्टीभित्रको विवादले पनि विपक्षीहरूलाई सहज माहोल बनाउने भन्दै ओली लचक हुन लागेको नेपाल समूहको विश्लेषण छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.