दाउरा खपत चार गुणाले बढ्यो

|

काठमाडौं : पछिल्लो समय कोभिड– १९ को संक्रमण हुनेको संख्या बढेसँगै मृतकको संख्या पनि बढिरहेको छ। मृतकको संख्या बढेसँगै संक्रमितकाे शव खुला स्थानमा जलाउन थालिएको छ।

यसअघि विद्युतीय शवदाह गृहमा मात्रै संक्रमितकाे शव जलाउने गरिएको थियाे। अहिले चाप बढेपछि बागमती किनारमा दाउरामा शव जलाउन थालिएको हो।  जसले गर्दा अहिले दैनिक दाउराको खपत झण्डै चार गुणाले बढेको छ। 

पशुपति क्षेत्र विकास कोष विद्युतीय शवदाह गृहका प्रमुख सुवास कार्कीले अहिले दैनिक २० हजार देखि ३२ हजार किलो सम्म दाउरा खपत हुने गरेको जानकारी दिए। उनका अनुसार एउटा शव जलाउन दुई सय ५० किलो भन्दा बढी दाउरा खपत हुन्छ।

 गत फागुन महिना अघिसम्म दैनिक सरदर ९ हजार किलोसम्म दाउरा खपत हुने गरेको थियो। तर, अहिले कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि दाउराको खपत ह्वात्तै बढेको हो। उनले अहिले दैनिक ३२ हजार किलो दाउरा आइरहेको बताए। 

दैनिक ११० देखि १७५ शव जल्छन्

विद्युतीय शवदाह गृहका प्रमुख कार्कीले अहिले पशुपतिमा दैनिक एक सय १० देखि एक सय ७५ वटासम्म कोरोना संक्रमितको शव जल्ने गरेको बताए। उनले यी शव जलाउन अहिले सम्म भने दाउराको समस्या नभएकाे बताए।

उनका अनुसार कोरोना संक्रमितकाे शव जलाउने ठाउँ नभएकाले पशुपतिको बागमती किनारमा एउटैमा दुईजनाको शव जलाउन मिल्ने १० वटा अस्थायी चिता थपिएको छ। 

‘दाउराको अभाव छैन’

कोषका कोषाध्यक्ष डा.मिलन कुमार थापाले अहिलेसम्म शव जलाउन दाउराको अभाव नभएको बताए। ‘अहिलेसम्म दाउराको कुनै अभाव भएको छैन,पछिका लागि पनि हामी व्यवस्था गर्छौ,’थापाले भने। कोषले शव जलाउन बारा, रौतहट,कैलाली, कञ्चनपुर लगायत देशका विभिन्न जिल्लाबाट साल,कटुस,जामुनजस्ता काठका दाउरा ल्याउने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.