|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको अवधिमा यात्रु ठग्नेविरुद्धको अभियानलाई तिव्रता दिएको छ। निषेधाज्ञाको घोषणा पश्चात महाशाखाले परिचालन गरेको ठगी विरुद्धको बिशेष अपरेसन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरिरहेको छ।

ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निग्रानी गरि हालसम्म ३३ जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ।

ठगी गर्नेहरु विरुद्धको अपरेसन टोलीले बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यका बाहिरी जिल्लाहरु जाने यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने गरेको पाइएको महाशाखाले जनाएको छ। त्यस्तो कार्यमा काउण्टरका कर्मचारीहरुको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ।

‘निषेधाज्ञा पश्चात यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिने गिरोहलाई कारबाही गर्न छुट्टै डेडिकेटेड अपरेसन टोली परिचालन गरेका छौं’ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने,‘टोलीले काउण्टर तथा आसपासको क्षेत्रमा निग्रानी गर्ने, यात्रुसँग गोप्य रुपमा बुझ्ने, यात्रु बनेर भाडा बार्गेनिङ गर्ने र ठगी गरेको पाइए पक्राउ गर्ने गरिएको छ।’

निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएको छ।

बाजुरा, जगन्नाथका २६ वर्षीय अनिल विक, बर्दिया गेरुवाका ३७ वर्षीय कृष्ण चौधरी र सोहि स्थानका ३५ वर्षीय बल बहादुर थारुलाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरि प्रहरी बृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ। दाङ र नेपालगञ्ज जाने यात्रुहरुसँग प्रति ब्यक्ति तीन हजारदेखि साढे चार हजारसम्म भाडा लिएको कसुरमा उनीहरु पक्राउ परेका हुन्।

त्यस्तै बारा जाने यात्रुहरुसँग दोब्बर बढी भाडा लिएको पाएपछि बाफलबाट सर्लाही बरथहवाका २४ वर्षीय अरबिन्द कुमार साह र सिम्रौनगढ बाराका २५ वर्षीय अफताब आलमलाई पक्राउ गरि आवश्यक कारबाहीको लागि प्रहरी बृत्त स्वयम्भूमा बुझाएको महाशाखाले जनाएको छ।

तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.