|

सोलुखुम्बु : तीन वर्षीय बालकको मृत्युपछि जिल्ला अस्पताल फाप्लुमा तोडफोड भएको छ।

सोलुदूधकुण्ड नगरपालिका–४ सुर्केका ङिमानुरु शेर्पाको उपचार ढिला हुँदा ज्यान गएको भन्दै आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन्। तोडफोडमा उत्रेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक बालकका काका पर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। पखालाका बिरामी शेर्पालाई उपचारका लागि बुधबार फाप्लु अस्पताल ल्याइए पनि चिकित्सकले राम्रो चेकजाँच नगरि औषधी लेखेर तत्काल घर पठाएको आफन्तको गुनासो छ ।

बिरामीको अवस्था बिग्रँदै गएपछि आज (बिहीबार) बिहान पुनः अस्पताल आएको भएपनि समयमा नै उपचार सुरु नगरेको मृतकका आफन्तको आरोप छ । अस्पतालले लेखिदिएको औषधी लिनका लागि दोर्पुसम्म पुग्दा ढिला भएको मृतक बालकका बुबा दावा गेलु शेर्पाले बताए।

औषधी लिएर अस्पताल पुग्दा चिकित्सकले स्लाइन पानी दिएको भए पनि बेलैमा उपचार नगरेको शेर्पाको दावी छ । तर जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाले भने बुधबार अस्पतालले दिएको औषधी सेवन नगर्दा अवस्था जटिल बनेको बताइन्।

औषधीको सट्टा फ्रुटीलगायतका खानेकुरा खुवाउनुका साथै अवस्था जटिल भएपछि तत्काल अस्पताल नआउँदा बालकको मृत्यु भएको अस्पतालको दावी छ। बिरामीलाई अस्पताल ल्याउने बित्तिकै आकस्मिक भर्ना गरि उपचार सुरू गरिएको अवस्थामा बिहान साढे ११ बजे उपचारकै क्रममा उनको मृत्यु भएको निमित्त प्रमुख शेर्पाले बताइन् ।

मृतक बालकका आफन्तले भने स्वास्थ्यकर्मीले चाडै उपचार सेवा दिएको भए ज्यान बच्ने भन्दै तोडफोडमा उत्रिएपछि तनाब सृजना भएको थियो । आफन्तको इटा प्रहारपछि अस्पतालका स्वास्थ्यकर्मी भागेर बचेको निमित्त प्रमुख शेर्पाले बताइन् ।

आकस्मिक कक्षसहित अन्य उपचार सामाग्रीमा क्षती पुगेको छ। आफन्तले बालकको शव नबुझेपछि अस्पतालमै राखिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.