|

सल्यान : कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिएपछि सल्यानमा १५ दिन निषेधाज्ञा थप गरिएको छ।

कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न भन्दै जेठ २ गते राति १२ बजेदेखि जेठ १६ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो। बिहीबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १ गतेसम्म जारी निषेधाज्ञालाई १५ दिन थप गरेर जेठ १६ गतेसम्म लागू गर्ने निर्णय गरेको हो।

जिल्लामा संक्रमण दर उच्च रहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताइन्। जिल्लामा कोभिड–१९ को उच्च जोखिमलाई न्यूनिकरण गर्न तथा उपचारको प्रबन्ध मिलाउन निषेधाज्ञा थप्नु परेको उनको भनाई छ।

निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ। अत्यावश्यक लगायतका खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य, औषधि र स्वास्थ्य सामग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

जिल्लामा संक्रमणको दर उच्च विन्दुमा पुगे पनि हालसम्म आइसियू र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन। जिल्लामा कोरोना संक्रमणबाट बिहीबारसम्म पाँचसय ३४ जना सक्रिय संक्रमित रहेका छन् भने १८ जनाको मृत्यु भइसकेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.