|

श्रीजना नेपाल

हेटौंडा :  हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको पनि अभाव देखिन थालेको छ। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालनमा ल्याएको यहाँ ५८ बेड छन्। तिनमा अस्पतालमा रहेका १७ वटा आइसियु, २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर बेड छन्। बेड खाली नहुँदा केही कोरोना संक्रमित इमर्जेन्सी वार्डमा पनि उपचाररत छन्।

२० बेडको व्यवस्था गरी संक्रमितको उपचार सुरु गरेको अस्पतालले संक्रमितको संख्या बढ्दै गएपछि २० बेड विस्तार गर्दै ५८ बेड बनाएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए।

बिरामीको आवश्यकताका आधारमा रोटेसनमा भेन्टिलेटरको प्रयोग गरिँदै आएको उनले बताए। इमर्जेन्सी कक्षमा राखिएका बिरामी वेटिङ लिष्टमा रहेका छन्।

अहिले कोभिड वार्डबाट कुनै संक्रमित डिस्चार्ज भए, रिफर भए वा मृत्यु भए मात्रै नयाँले स्थान पाउने अवस्था छ। आज ३ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि इमर्जेन्सीका बिरामीलाई कोभिड वार्डमा सारिएको पनि काफ्लेले बताए।

आगामी दिनमा कोरोना संक्रमितको अवस्था यही गतिमा बढ्दै गएमा उपचारमा समस्या हुने उनले चिन्ता व्यक्त गरे। भने 'हामी सरकारी अस्पताल हाैं, हामीले उपचार गर्दैनौं/सक्दैनौ भन्न मिल्दैन। ठाउँ भएसम्म पुगेसम्म र सकेसम्म हामी सबैको उपचार गर्नेछौं। थप बेड व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पनि छलफल गरिरहेको छ। हामी बिरामीलाई सकेसम्म उपचार सेवा दिने नै छौं।’ 

छैन पर्याप्त अक्सिजन 

अस्पतालमा रहेका विभिन्न प्रकारका ५८ वटा बेडमा रहेका सबै संक्रमितलाई दैनिक अक्सिजन लगाउनुपर्ने अवस्था छ। उनीहरूलाई हाई फ्लोमा अक्सिजन दिइरहेको डा काफ्लेले बताए।

दैनिक एक सय ३० देखि एक सय ५० सिलिण्डर अक्सिजन बिरामीलाई दिइरहेको पनि उनले बताए। अस्पतालमा मौज्दात ४६ वटा सिलिण्डर संख्या अहिले दुई सय ५० पुर्‍याइएको पनि काफ्लेले बताए। जसमा बागमती प्रदेश सरकारले २२ वटा दिएको थियो भने डिसिसिएमसी, उद्योग वाणिज्य संघ र अन्य स्थानबाट संकलन गरिएको थियो।

अहिले पनि एक सय ५० वटा सिलिण्डर बिरामीमा खपत भइरहेको काफ्लेले बताए। बाँकी एक सय वटा सिलिण्डर भर्न लैजाने उनले जानकारी दिए। हाल आफूहरूले जसोतसो अक्सिजन व्यवस्था गरिरहेको भए पनि अब भने अभाव हुने उनले बताए। 

'हेटौंडामा अक्सिजन प्लान्ट छैन। हामीले चितवन, नवलपरासी र परवानीपुरबाट अक्सिजन ल्याइरहेका छाैं। हामीसँग अक्सिजन मौज्दात छैन। अहिले यहाँ भएका बिरामीलाई मात्रै ठिक्क पुग्ने अक्सिजन छ। बाँकी बिरामी थपिए व्यवस्थापन गर्न गाह्रो छ,’ उनले भने।

हिजै वीरगन्जको सिडिओले अब अक्सिजन दिन सक्ने अवस्था नरहेको बताएपछि अक्सिजन संकलन गर्न समस्या भइरहेको पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.