|

बाँके : बाँकेमा एकै दिन ६ सय २१ जनाले कोरोना संक्रमण जितेका छन्। उनीहरू जिल्लाका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा होम आइसोलेसनबाट कोरोनामुक्त भएका हुन्। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना जित्नेमा २ सय ९१ महिला र ३ सय ३० पुरुष छन्। यसैबीच पछिल्लो २४ घण्टामा बाँकेमा २ सय ३५ कोभिड संक्रमित थपिएका छन्।

जिल्लाका दुईवटा प्रयोगशालामा ४ सय ५ नमुना परीक्षण गर्दा २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा १ सय ७८ नमुना परीक्षण गर्दा १ सय जना र बागेश्वरी ल्याबमा २ सय २७ नमुना परीक्षण गर्दा १ सय ३५ जना गरी कुल २ सय ३५ संक्रमित थपिएका हुन्।

जसमध्ये बाँके जिल्लाको मात्रै एक सय २९ जना छन् भने भेरी अस्पतालको पिसिआर ल्याबको रिपोर्ट अझै सार्वजनिक भएको छैन। हालसम्म बाँकेमा ६७ हजार ८३५ जनाको पिसिआर परीक्षण सम्पन्न भइसकेको छ। त्यसमध्ये १४ हजार ५ सय ५७ जनामा संक्रमण पुष्टि भएको केन्द्रको तथ्यांकमा उल्लेख छ।

थप ३ जनाको मृत्यु

कोभिड संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप ३ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगन्ज उपमहानगरपालिका २० बाँकेका ५० वर्षीय पुरुष, टीकापुर ७ कैलालीका ५६ वर्षीया महिला र बैजनाथ गाउँपालिका ६ बाँकेका ६२ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो।

योसँगै कोभिड संक्रमणका कारण बाँकेमा उपचारका लागि बाहिरबाट आएका १ सय ६४ र जिल्लाकै २ सय १६ जनाले ज्यान गुमाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.