|

सर्लाही : ईश्वरपुर नगरपालिका–४ सागरनाथ वनमा शिकारी समूह र प्रहरीबीच गोली हानाहान भएको छ। जंगलमा हतियार बोकेर शिकारीको समूह शिकार गर्न गएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय केशरगञ्ज र प्रहरी चौकी फुलजोरबाट गस्ती गर्दै गएको प्रहरी टोली र शिकारीबीच बिहीबार साँझ दोहोर भिडन्त भएको हो।

प्रहरी निरीक्षक जनकराज ढुंगानाका अनुसार प्रहरीलाई देख्ने बित्तिकै शिकारीहरुको समूहले भरुवा बन्दुकबाट फायरिङ गरेका थिए। लगत्तै प्रहरीले पनि आत्मरक्षाका लागि दुई राउण्ड फायरिङ गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए। घटनामा मानवीय क्षति भएको छैन।

घटनास्थलबाट शिकारीको समूहमध्येका ईश्वरपुर–४ का अन्दाजी ४५ वर्षीय रणबहादुर गोले पक्राउ परेका छन्। अन्य दुई÷तीनजना शिकारी भने भाग्न सफल भएका र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। सुरुमा एक थान भरुवा बन्दुक मात्रै भेटिए पनि पछि घटनास्थल आसपास खोजी गर्दै जाँदा थप दुई थान बन्दुक बरामद् भएको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए। 

घटनस्थलबाट भरुवा बन्दुकसँगै बारुद, फलामको केही काटी र एउटा मृत नीलगाई बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। निषेधाज्ञा सुुरु भएसँगै बाँके, सागरनाथ, हिरापुर मूर्तिया, जानकीनगर र चुरेक्षेत्रका वन जंगलमा वन्यजन्तुको चोरी शिकारी  बढेको स्थानियवासी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.