म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित ४२ मेगावाट विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। निजी क्षेत्रको लागानीमा निर्माण भएको उक्त आयोजनाबाट उत्पादित विद्युत् १५ दिनसम्म परीक्षणको रुपमा उत्पादन भएपछि व्यावसायिक उत्पादन हुने आयोजनाले जनाएको छ।
माउन्टेन इनर्जी नेपालले निर्माण गरेको उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सबस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो। आयोजनाका आवासीय इञ्जिनियर दिवाकर शाहका अनुसार १४÷१४ मेगावाटका तीनवटै युनिटबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ।
‘मिस्ट्रीखोलाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोडियो,’ शाहले भने, ‘परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौँ।’
माउन्टेन इनर्जीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न गरेको छ। स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना रहेको कम्पनीले दावी गरेको छ।
आयोजनामा नबिल बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन्। उक्त आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन्।
२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नुपर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो। विद्युत् विकास विभागबाट २०६८ कात्तिक २० गते निर्माण अनुमतिका लागि ५३ नम्बरमा लाइसन्स रोबर्ट इनिजीले लिएको विभागकी सूचना अधिकारी निशा रिजालले बताइन्। रोवर्ट इनर्जीलाई पछि गएर माउन्टेन इनर्जीले लिएपछि अहिले आयोजनाबाट उत्पादन सुरु हुन लागेको प्रवर्द्धकले जनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।