|

काठमाडौं : काठमाडौं महानगरपालिकाले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई  भेरोसेलको दोस्रो मात्राको खोप नदिने भएको छ। शुक्रबार बिहान महानगरपालिकाको जनस्वास्थ्य विभाग र सबै वडा क्लिनिक इञ्चार्जहरुसँग बसेको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो।

जेठ २ गतेदेखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुँदै छ। विभागका प्रमुख हरिबहादुर कुँवरले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिकाे लागि पछि निर्णय गर्ने जानकारी दिए।

भने, ‘माथिल्ला निकायबाट निर्देशन बमोजिम हामी खोप सञ्चालन गछौँ,यसैबीच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ,यी व्यक्तिहरुका विषयमा फेरि निर्णय हुनेछ।’

उनका अनुसार अहिलेको खोप चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोभिडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो। भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न  महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ।

खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ताबराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन्। पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार गएको (०७७) चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो। यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् । 

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ। जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दोस्रो खोप दिइने,चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइने महानगरपालिकाले जनाएको छ।

त्यस्तै,बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ। बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.